काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका अधिकांश सुचांकहरू सकारात्मक बनेको बताएका छन्। अर्थतन्त्र दबाबमुक्त नभएको स्विकार्दै अर्थतन्त्रका सुचकांकहरू सकारात्म रहेको उनले बताए । विराटनगरमा शुक्रबारदेखि आयोजित मोरङ व्यापार संघ ट्रेड एक्स्पो उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
उनले महँगी कम रहेको, निर्माण व्यवसायीको भुक्तानी गर्ने प्रक्रिया अगाडि बढेको र नयाँ आयोजना अगाडि बढ्दै गईरहेको समेत बताए । बैंक ब्याजदर, लघुवित्त र सहकारीको समस्या हल हुँदै गएको पनि उनले बताए । तर, रेमिट्यान्सको भरमा मुलुक चल्नु राम्रो नभएपनि वर्तमान अवस्थामा अति महत्त्वपूर्ण रहेको दाहालको भनाई छ ।
बैंकको ब्याजदर घट्दै गएको, ऋण प्रवाह बढेको, स्थायी तरलताको सुविधा घटाइएको कारण अर्थतन्त्र लयमा फर्किएको उनले बताए। पर्यटन क्षेत्रमा पनि सुधार आएको उनले बताए । तर, आमनागरिक र व्यवसायीको मनोबल उठाउने चुनौती सरकारसामु रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नकारात्मक भाष्य बनाउने फेसन जस्तो बनाउने प्रयास भइरहेको प्रति सचेत हुनुपर्ने बताए।
उनले अब नेपाल उज्यालोतिर पनि गइरहेको सन्देश दिनुपर्ने र रचनात्मक आलोचना गर्नतिर लाग्नुपर्ने बताए । उनले विराटनगर कटहरी कार्गो रेल संचालनको विषयमा भारतबाट आउने उच्च नेतृत्वसँग छलफल गर्ने बताए । उनले विराटनगर विशेष आर्थिक क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले विराटनगर गिरिजाप्रसाद क्रिकेट रंगशाला बनाउने, पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज संचालनका लागि पहल गरेको स्मरण गर्दै विराटनगर चक्रपथ बनाउन आगामी नीति तथा कार्यक्रममा समेट्ने बताए ।
उनले गिरिजाप्रसाद कोइरालाको नाममा रहेका संघसंस्थालाई सक्दो सहयोग गर्ने बताए । विराटनगर पछि पर्न नहुने बताउँदै त्यसको लागि सक्दो सहयोग गर्ने उनले बताए । कांग्रेस नेता डा.शेखर कोइरालाले विराटनगर प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको भएपनि कसैसँग केही नमागी अगाडि बढ्दा राज्यले ध्यान नदिएको बताए ।
उनले पञ्चायती कालमा विराटनगरलाई हेला गरे पनि उद्योगी व्यवसायीले बचाएको भन्दै अहिले पनि उनीहरूको विश्वास लिनुपर्ने बताए । कोइरालाले रिङ रोडलाई बहुवर्षेमा राखेर अगाडि बढाउनु पर्ने, विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिए ।
अहिले ४० प्रतिशत सटरहरू बन्द भएको, बैंकले पनि मिटरब्याजी बनेको, कृषि ऋण ५र६ प्रतिशतमा दिनुपर्नेमा वास्तविक किसानलाई नदिएको उनले दाबी गरे । यो विषयमा राष्ट्र बैंकका गभर्नरलाई राखेर कुरा गर्नुपर्ने प्रधानमन्त्रीलाई उनले सुझाव दिए । महोत्सव उद्घाटन कार्यक्रममा विराटनगर महानगर प्रमुख नागेश कोइरालाले पछिल्लो समय विराटनगर पछि परिरहेको बताए । उनले विराटनगरमा औद्योगिक प्रदर्शनीस्थल बनाउनुआवश्यक भएको बताए ।