काठमाडौँ । आज लगानी सम्मेलनको दोस्रो तथा अन्तिम दिन दुई वटा दुई पक्षीय सम्झौता (एमओयू) भएको छ।

होटलसँग सम्बन्धित र सार्वजनिक निजी साझेदारीसँग सम्बन्धित विषयमा एमओयू भएको हो। नेपालको शाख समूहले हङकङको बोर होटलसँग एमओयू गरेको छ।

यस्तै नेपाल एसोसिएसन अफ सार्वजनिक निजी साझेदारी ९एनएपीपीपी० र वर्ल्ड एसोसिएसन अफ अफ पीपीपी युनिट एण्ड पीपीपी प्रोफेसनल (वाप्प)बिच समेत एमओयू सम्झौता भएको हो । सम्झौताअनुसार बोर होटलले नेपालको कपिलवस्तुमा होटलमा लगानी गर्ने छ ।

उक्त होटलमा चीनबाट करिब १ अर्ब ९० करोड रुपैयाँ लगानी आउने भएको छ भने सार्वजनिक निजी साझेदारीसँग सम्बन्धित सम्झौतासँगै नेपालमा सार्वजनिक निजी साझेदारी विषयमा अध्ययन तथा सहकार्य हुनेछ। यो सम्झौतामा नेपालको एसोसिएनसनको अध्यक्ष र वाप्पको अध्यक्षले हस्ताक्षर गरेका हुन।

तेस्रो लगानी सम्मेलनको दोस्रो दिनसम्म आई पुग्दा कूल ५ वटा एमओयू सम्झौता भएको छ। सम्मेलनको पहिलो दिन तीन वटा एमओयू सम्झौता भएको थियो । जसमध्ये नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाको चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजबिच दुई सम्झौता भएको थियो । यी दुई व्यापारिक छाता संगठनले आपसी सहकार्य र उद्योग तथा लगानी स्थापनासँग सम्बन्धित एमओयू गरेका थिए ।

लगानी सम्मेलनको दोस्रो दिन नै सूचना तथा प्रविधिसँग सम्बन्धित विषयमा एमओयू भएको थियो । सो सम्झौताअनुसार रामकोटमा साढे ३ अर्ब रुपैयाँभन्दा बढी लागतको डाटा सेन्टर स्थापना हुने निश्चित भएको छ । सो सम्झौता भारतको योट्टा डेटा सर्भिसेज र नेपालको बीएलसी होल्डिङबिच भएको हो ।