काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले सरकारले कार्यविधि नै बनाएर नागरिकतासँग जोडिएका समस्याहरूलाई समाधान गर्ने प्रयास भइरहेको बताएका छन् ।

काठमाडौँमा आज नागरिकता सम्बन्धित विषयवस्तुमा छलफल तथा अन्तरक्रियामा आफ्नो भनाई राख्दै गृहमन्त्री लामिछानेले सम्पूर्ण सरोकारवालाहरूसँग छलफल गरी छलफलबाट आएका विषयहरूलाई समावेश गर्न सके नागरिकतासम्बन्धी देखिएका तमाम समस्यालाई समाधान गर्न सकिने बताए ।

उपप्रधानमन्त्री लामिछानेले कार्यान्वयन प्रणालीमा गर्नुपर्ने सुधारहरू धेरै रहेको उल्लेख गर्दै नागरिकले नागरिकता प्राप्त गर्न पाउने अधिकारबाट वञ्चित गराउनु नहुने बताएका छन् ।

उनले निकट भविष्यमा नै नागरिकतासम्बन्धी देखिएका समस्याहरूलाई सम्बोधन कार्यविधि निर्माण गर्नु नेपाल सरकारको दायित्व र जिम्मेवारी भएको बताए । उनले आम नागरिकले नागरिकता प्राप्त गर्ने विद्यमान कानुनी अवस्थामा देखिएका कमी कमजोरीहरू सच्याउन जरुरी रहेको उल्लेख गरे ।