काठमाडौँ । एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनामा महत्वकांक्षा बढेमा व्यवस्थामाथि संकट पैदा हुने बताए।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले सेनाको महत्वाकांक्षा बढ्न दिन नहुने बताएका हुन् । सेनालाई व्यापार र ठेक्कापट्टा गर्न दिनु कत्तिको जायज हो गुरुङले प्रश्न गरेका छन् ?

‘हामीहरू त्यस्तो संवेदनशील जुन अंग छ, जुन संस्था, संरचना छ नेपाली सेना । त्यसलाई हामी व्यापार गर्न दिन्छौँ । त्यसलाई हामी ठेक्कापट्टा गर्न दिन्छौँ । सुरक्षाको हिसाबले, संवेदनशीलताको हिसाबले यो कुरा कत्तिको जायज हो ?’ गुरुङले प्रश्न गरेका छन् ।

‘आज कुनै नेताले यो कुरा मुख खोल्न सक्दैन होला । हामीले सोच्नुपर्छ, त्यो चिज धेरै महत्वाकांक्षी बन्यो भने त्यसले हाम्रो लोकतन्त्र, गणतन्त्रमाथि विभिन्न देशको घटना हेर्दाखेरि त्यस्तो महत्वकांक्षा बढ्दाखेरि के हुन्छ ? संकट पैदा भएको देखेको छैन ? हामीले देखेको छौँ नि,’ उनले भने,

‘अहिले उसको काम त राम्रो होला । विश्वसनीय संस्था नेपाली सेना नै भनेका छौँ । नेपाली सेनाको अझै आधुनिकीकरण, पेसागत हिसाबले अझै सक्षम संस्था बनाउनु जरुरी छ ।’ उनले आफ्नो भनाइमा थप स्पष्ट पारे ।

उनले नेपाली सेनालाई अझै आधुनिकीकरण, सक्षम र लोकतान्त्रीकरण गर्नुपर्ने बताए । सेनाभित्र गणतन्त्र नआएको टिप्पणी गर्दै गुरुङले राष्ट्रिय सुरक्षा नीतिमा समयानुकूल सुधार गर्नुपर्नेमा जोड दिएका हुन् ।

त्यस्तै अर्का राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले भने राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव नहुने बताएका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राष्ट्रिय सुरक्षाको लागि नेपाली नागरिक पनि उभिनुपर्ने बताएका हुन् । उनले यसका लागि राष्ट्रिय सेवा दलको अभ्यासको दायरालाई बढाउनुपर्ने बताए । सेनाको उपकरणहरूको स्तर वृद्धि गर्नु आवश्यक रहेको पनि उनको भनाइ थियो ।