काठमाडौँ। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये ५ जना सर्ट लिस्ट (संक्षिप्त सूची) मा परेका छन् ।

सिफारिस समितिको सचिवालयले मंगलबार सूचीकरणमा परेका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । सूचीकरणमा पर्ने उम्मेदवारहरूमा अर्घाखाँचीका विष्णुप्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले, ललितपुरका सुशील ज्ञवाली, धनुषाका रामदेव यादव र भीष्मराज ढुङ्गाना छन् ।

सीईओका लागि ८ जनाले आवेदन दिएकोमा ५ जनालाई कार्यालयले संक्षिप्त सूचीमा समावेश गरेको छ । यसअघिका सीईओ सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले आवेदन मागेको थियो ।

सूचीकरणमा परेकामध्ये ३ जनाको अन्तिम सूची तयार गरी मन्त्रिपरिषद्लाई सिफारिस गरिनेछ । ती ३ जनामध्ये मन्त्रिपरिषद्ले एक जनालाई सीईओ नियुक्त गर्नेछ । सिफारिस समितिले उम्मेदवारको रणनीति र कार्य योजना, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षणपश्चात् मन्त्रिपरिषदमा सिफारिस गर्नेछ ।

साउन २७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सीईओका लागि आवेदन माग गरेको थियो ।