काठमाडौं । “Your partner for progress” अर्थात ‘प्रगतिको लागि तपाईँको साथी’ भन्ने मुल मन्त्र लिएर  बैंक तथा वित्तीय क्षेत्रमा क्रियाशील संस्था सिटिजन्स बैंक इन्टरनेसनलले नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेको छ । क्रेडिट कार्डको प्रयोग गर्दा देखिएका कमजोरीहरूको सम्बोधन गर्दै अझ थप परिष्कृत तथा समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाहका लागि भन्दै बैंकले भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेको हो ।

बैंकले यसलाई डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवातका रूपमा परिभाषित गर्दै भर्चुअल क्रेडिट कार्डले उपभोक्ता र व्यवसाय दुवैलाई डिजिटल युगमा सशक्त बनाउन सहयोग पुराउने बैंकको दाबी छ । जुन कार्ड सिटिजन्स बैंक इन्टरनेशनलका देशभरका १९७ शाखाहरूबाट नै वितरण हुँदै आएको छ

यसै विषयमा आर्थिक भ्वाइसका लागि सम्वाददाता अर्जुन धामीले सिटिजन्स बैंक इन्टरनेशनलका क्रेडिट कार्ड शाखा प्रमुख समिर अधिकारी सँग गरेको कुराकानीको सम्पादित अंश ।

भर्चुअल क्रेडिट कार्ड भनेको के हो ? यसको बारेमा सजिलो भाषामा बताइदिनुहोस् न ।
भर्चुअल क्रेडिट कार्ड भनेको, क्रेडिट कार्ड जसरी नै बैंकले हरेक महिना ग्राहकहरूलाई सानो रकमको ऋण उपलब्ध गराउने डिजिटल तरिका हो । क्रेडिट कार्डको प्रयोग गरेर उक्त सुविधा प्रयोग गर्नको लागि प्रायः स्वाइप मेसिन अनिवार्य हुने गर्छ तर यसको लागि भने सामान्य क्युआर कोड मात्रै भए पनि पुग्छ । आवश्यक पर्छ । हामीले यसको लागि फोन पे सँग सहकार्य गरेका छौ । जुन फोन पे मर्चेन्टहरूमा स्क्यान गरी ग्राहकहरूले भुक्तानी गर्न सक्छन् । यसका माध्यमबाट नेपालभित्र मात्रै भौतिक रूपमै पनि किनमेल गर्नको लागि प्रयोग गर्न सकिन्छ ।

भर्चुअल क्रेडिट कार्डका मुख्य विशेषता के–के हुन् ?
माथि भनेजस्तै ग्राहकहरूले आफूसँग पैसा नभएको ठाउँमा होस या स्वीप मेसिन नभएको ठाउँमा समेत सजिलै भुक्तानी गर्न सक्छन् । यो नै यसको मुख्य विशेषता हो । यदि ग्राहकको बैंक खातामा पैसा छैन भने उसले भर्चुअल क्रेडिट कार्ड मार्फत भुक्तानी गर्न सक्छ । यो कार्ड ग्राहकको मोबाइल बैङ्किङको लागि पनि लागू हुन्छ । भर्चुअल कार्ड ग्राहकहरूलाई मोबाइल बैंकिङ सुविधामा नै थपिएको हो । कुनै कागजी कार्य र भौतिक कार्डको आवश्यकता नपर्ने यस्ता कार्डमा ग्राहकले २० हजार रुपैयाँ देखि दुई लाख ५० हजार रुपैयाँ सम्मको क्रेडिट रकम प्रयोग गर्न पाउँछन् ।

यस्तै ग्राहकले यो कार्ड मार्फत प्रयोग गरेको कर्जा रकम ४५ दिनभित्र बिना ब्याज चुक्ता गर्ने विकल्प समेत प्रदान गरेको छ । यसका साथै क्रेडिट कार्डबाट स्टेटमेन्ट हेर्न नसकिने अवस्थाको अन्त्य गर्दै भर्चुअल क्रेडिट कार्डले मोबाइलमार्फत लाइभ स्टेटमेन्ट समेत हेर्न मिल्ने व्यवस्था छ । जसले ग्राहकहरूले खर्च समेत नियन्त्रण हुने विश्वास हामीले लिएका छौँ ।

अर्को मुख्य कुरा भनेको भर्चुअल क्रेडिट कार्ड सुरक्षाको हिसाबले पनि बलियो छ । किनभने यो भौतिक कार्डजस्ता हराउने वा अरूले लगेर प्रयोग गर्न सक्ने सम्भावना एकदमै कम हुन्छ । अनि अन्य भौतिक कार्डजस्तो बोकिरहनुपर्ने बाध्यता पनि यसमा हुदैन् । भचुअल हुने भएकोले मोबाइल मात्रै पनि बोक्दा पुग्छ ।

भर्चुअल क्रेडिट कार्ड कसरी प्राप्त गर्न सकिन्छ यसबारे पनि थारै बताइदिनुहोस् न ?
भर्चुअल क्रेडिट कार्ड प्राप्त गर्ने प्रक्रिया पनि भौतिक क्रेडिट कार्ड प्राप्त गर्ने जस्तै सजिलो छ । क्रेडिट कार्ड भौतिक रूपमा पाइन्छ भने भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङसँग जोडिएको सुविधा हो ।

यो कार्ड लिनको लागि नजिकको शाखामा गएर भर्चुअल क्रेडिट कार्डको लागि आवेदन दिनुपर्छ । निवेदन पेस गरेको ४८ घण्टाभित्र मोबाइल बैंकिङ सुविधामा भर्चुअल कार्ड विकल्प थपिएर आउँछ । जसलाई लिनको लागि बैंक गइरहनुपर्दैन । यो पनि यसको विशेषता नै हो ।

यसको लागि हामीले सेवा शुल्क बापत ५०० रुपैयाँ तोकिएको छ । यसका साथै, वार्षिक नवीकरण शुल्क बापत न्यूनतम ५०० रुपैयाँ लिने व्यवस्था गरेको छ ।

पहिले नै क्रेडिट कार्ड लिइसकेका ग्राहकहरूले र बैंकमा खाता नै नभएका व्यक्तिले पनि भर्चुअल क्रेडिट कार्ड प्राप्त गर्न सक्छन् त ?
भिसा क्रेडिट कार्ड लिएको र खातावाला, ऋणी र निक्षेप जुनसुकै ग्राहकले पनि भर्चुअल कार्ड प्राप्त गर्न सक्छन् । तर बैंकसँग पहिलेदेखि नै जोडिएर मोबाइल बैंकिङ सेवा लिइरहनुभएका केही ग्राहकहरूको एपमा भने अप्लाइ फर भर्चुअल क्रेडिट कार्ड भनेर सप्सन देखिने गरेको छ जसमा क्लिक गरेर सजिलै यो कार्ड लिन सक्छन् ।

यस्तै हाम्रो बैंकमा खाता नभएका कुनै पनि ग्राहकले यो सुविधा प्राप्त गर्नका लागि पनि हाम्रो बैंकको मोबाइल बैंकिङ सेवा भने लिएको हुनुपर्छ । मोबाइल बैंकिङमार्फत बैंकसँग जोडिएका ग्राहकहरूले भने सिटिजन बैंकको जुनसुकै शाखाबाट पनि भर्चुअल क्रेडिट कार्डको लागि आवेदन दिन सक्छन् ।

भर्चुअल क्रेडिट कार्ड प्रयोगबारे ग्राहकहरूको प्रतिक्रिया चाहिँ कस्तो पाइरहनुभएको छ नि ?
पक्कै पनि हामीले कुनै प्रडक्ट ग्राहकहरूमा सेल गरिसकेपछि हामीले यतिकै छोड्ने वा मतलब नगर्ने भन्ने हुँदैन । त्यस कारण हामीले ग्राहकहरूलाई पनि पोस्ट कल सेल्स मार्फत मासिक रूपमा वा पाक्षिक रूपमा हामीले ग्राहकहरूको प्रतिक्रिया लिइरहेका छौँ । जसमा ग्राहकहरू एकदमै खुसी हुनुहुन्छ ।

धेरैजस्तो मानिसहरूले भिसा कार्ड लिइरहेको अवस्थामा भर्चुअल क्रेडिट कार्ड उपलब्ध गराइदिनुहोस् भनेर समेत कल गर्ने गरिरहेका छन् । जुन अनुपातमा हामीले भिसा क्रेडिट कार्डहरूको सेवा दिइरहेका थियौँ, प्रत्येक महिनामा त्यसको ३० देखी ४० प्रतिशत बढी मानिसहरूले भर्चुअल क्रेडिट कार्ड लिइरहेको अवस्था छ ।

हाम्रो जस्तो भूगोल र पूर्वाधार भएको देशमा भर्चुअल क्रेडिट कार्डको आवश्यकता र प्रयोगलाई कसरी नियालिरहनुभएको छ ?
यो एकदम राम्रो प्रश्न सोध्नुभयो तपाईँले, हामी विकासका पूर्वाधार र भौगोलिक हिसाबले थारै कठिनाइको अवस्थामा त पक्कै नै छौ । तर पनि सुरुवात नै नगरी अन्त्यको आस पनि त गर्नु भएन नि ? जस्तो २०१९ मा कोभिडको महामारी आउनुभन्दा अगाडी, भौतिक रूपमा पैसा नबोके सम्म, पैसा बोकेजस्तो वा कारोबार गरेजस्तो नै लाग्दैनथ्यो । कोभिड र त्यसपछि नेपालमा हामीले नसोचेको तरिकाले डिजिटल बैंकिङ प्रणालीको विकास भएको देखिन्छ ।

अब मोबाइल बैकिंङ र भर्चुअल क्रेडिट कार्ड चलाउनको लागि आवश्यक पर्ने मुख्य कुरा भनेको इन्टरनेटको उपलब्धता हो । जसको सञ्जाल बिस्तारै बढ्दै छैन । नयाँ लगानीकर्ता वा पुरानै लगानीकर्ताहरूले पनि यसको बढवालाई मुख्य प्राथमिकतामा राखेकै छन् । यो बैंकको दीर्घकालीन योजना नै हो । त्यस कारण यसको अवश्यक्ता वा प्रयोगलाई नकार्न पनि सकिदैन् । त्यस कारण हामी हाम्रा ग्राहकहरूलाई ढुक्क भएर जोडिन र प्रयोग गर्न अनुरोध गर्दछौँ ।