काठमाडौं । देशभर सञ्चालनमा रहेका निर्जीवन बिमा, लघुवित्त र विकास बैंक तथा ट्रेडिङ समूहका कम्पनीहरु गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
तर लाभांश घोषणा गरेकामध्ये केही कम्पनीहरुले आजसम्म पनि बुकक्लोज गरेका छैनन् । जसमध्ये ३ वटा निर्जीवन बिमा, एउटा लघुवित्त र विकास बैंक साथै, २ वटा ट्रेडिङ समूहका कम्पनीहरुको बुक क्लोज हुन बाँकी रहेको छ ।
यी कम्पनीहरुमध्ये २ वटाले बुक क्लोज मिति सार्वजनिक गरिसकेका छन् । सिद्धार्थ प्रिमियर इन्सुरेन्सले फागुन २ गते र विशाल बजारले फागुन ९ गते बुक क्लोज गर्ने भएका हुन् । अरु कम्पनीहरुले लाभांश प्रयोजनार्थ बुक क्लोज मिति तय गरेका छैनन् ।
बुक क्लोज हुन बाँकी कम्पनीहरुमध्ये सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्सुरेन्सले ३० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यसले फागुन २ गते बुक क्लोज गर्दैछ । तसर्थ, फागुन १ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
यता, विशाल बजारले फागुन ९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन ८ गतेसम्म कायम सेयरधनीले १४ प्रतिशत नगद लाभांश हात पार्न सक्नेछन् ।
यता, बुक क्लोज मिति तय गर्न बाँकी नेष्डो समृद्ध लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । त्यस्तै, साल्ट ट्रेडिङले १० प्रतिशत नगद लाभांश, आइजीआइ प्रुडेन्सियलले ९.७३ प्रतिशत नगद लाभांश, सानिमा जीआइसीले ७.५ प्रतिशत बोनस सेयर र ग्रीन डेभलपमेन्टले ५.७५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । यी कम्पनीहरुको साधारण सभा र बुक क्लोज मिति तय हुन बाँकी छ ।