काठमाडौं । आध्यात्मिक चिन्तक सच्चिदानन्द सरस्वती अर्थात् खप्तड बाबाको ‘विचार विज्ञान’ नामक प्रख्यात पुस्तकमा उल्लेख गरिएको छ – ‘तिमी जे सोच्छौ, त्यस्तै बन्छौ । राम्रो सोच्यौ भने राम्रो परिणाम प्राप्त हुन्छ । नराम्रो सोच्यौ भने परिणाम नराम्रो आउँछ । तिम्रो विचार नै तिमी हौ ।’

हो, यही कुरालाई आत्मसाथ गर्दै, कुनै पनि काममा सफलता प्राप्त गर्नको लागि व्यक्तिगत रुचिका साथै कामको बारेमा सकारात्मक सोच राख्नुपर्छ भन्ने मान्यता लिएर अघि बढिरहेकी छिन्, लाईफ इन्स्योरेन्स कम्पनीकी अभिकर्ता रिता खतिवडा । बागमती प्रदेशको राजधानी हेटौडामा जन्मिएकी खतिवडा पेसाले स्टाफ नर्स थिइन् । तर अहिले भने उनी पूर्ण रूपमा बीमा अभिकर्ता पेसामा जोडिएकी छिन् । उसो त खतिवडालाई कक्षा ९–१० मा नै बीमाको बारेमा पढ्दा नै यस क्षेत्रतिर रुचि लागेको थियो ।

स्टाफ नर्सको जागिर छोडेर अभिकर्ता पेसामा
स्टाफ नर्समा स्नातकसम्मको अध्ययन गरेकी खतिवडालाई नर्सिङ क्षेत्रमा भन्दा बीमा अभिकर्ता पेसा नै सजिलो लाग्यो । सुरुसुरुमा आफ्नो मुख्य पेसा छोड्नमा खुसी नदेखिएको उनको परिवारले पनि अहिले भने राम्रै साथ दिइरहेको उनले आर्थिक भ्वाइसलाई सुनाइन् ।

‘म पहिले त स्टाफ नर्स थिए । पछि म आफ्नो र छोराको बीमा गर्नुपर्यो भनेर एलआइसीमा पुगेको थिए । तर त्यहाँको सरहरुले अभिकर्ता पेसाको बारेमा बताएपछि मलाई पनि जोडिन मन लाग्यो र म यस पेसामा आवद्ध भए । पछि काम गर्दै जाँदा यहीँ पेसा नै मलाई मन पर्यो । समयको हिसाबले र आर्थिक हिसाबले पनि । त्यसपछि म पूर्ण रूपले यसै पेसामा काम गर्न थाले । अहिले सबै कुरा राम्रै छ ।’ उनले आर्थिक भ्वाइस सँगको कुराकानीको क्रममा सुनाइन् ।

यस्तै उनले पछिल्लो समय आफ्नो श्रीमानलाई समेत यो पेसामा आबद्ध गराएकी छिन् । आर्थिक हिसाबले पनि नर्सिङ पेसा भन्दा पनि बीमा क्षेत्रमै धेरै राम्रो भएको उनको भनाई छ । जहाँ आफूले चाहे अनुसारको मिहेनत र समय दिएर आवश्यकता अनुसार पैसा कमाउन सकिने उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘अभिकर्ता पेसा मात्रै यस्तो पेसा हो जहाँ आफूले चाहेको समय दिएर चाहेजती आम्दानी गर्न सकिन्छ ।’

लगातार २ पटक नेपाल टप हुन सफल एजेन्सी म्यानेजर
सन् २००९ देखी लाइफ इन्स्योरेन्स नेपालको हेटौडा शाखाबाट अभिकर्ता पेसामा जोडिएकी खतिवडा अहिले भने कम्पनीको सिनियर एजेन्सी म्यानेजरको रूपमा काम गरिरहेकी छिन् । यस्तै उनले यो पेसामा काम गर्दै गर्दा धेरै सम्मान तथा पुरुस्कारहरु समेत प्राप्त गरिसकेकी छन् । उनी सन् २०१९ भित्र नै ४ पटक एमडीआरटी १ पटक सीओटी र ३ पटक टीओटी समेत भइसकेकी छिन् ।

यस्तै लाइफ इन्स्योरेन्स नेपालबाट गतबर्ष र यो वर्ष एजेन्सी म्यानेजरको रूपमा नेपाल टप हुन समेत सफल भएकी छिन् । भने कम्पनीको तर्फबाट उनी सिंगापुर, मलेसिया थाइल्यान्ड र देशभित्रकै पनि धेरै स्थानको भ्रमणमा समेत गइसकेकी छिन् ।
अभिकर्ता बनेर काम गर्दै गर्दा आफूले धेरै मिहिनेत गर्नुपरेको बताउने खतिवडाले हालसम्म करिब ८ सय भन्दा बढी मानिसको बीमा गराइसकेकी छिन् ।

नयाँ अभिकर्ता बन्न चाहनेहरूको लागि सुझाव
कुनै पनि मानिस सफल हुनका लागि खुसी मनले सकारात्मक सोच लिएर काम गर्नुपर्ने उनको भनाई छ । काम गर्दा धेरै अप्ठ्यारा तथा बाधाहरू पनि आउन सक्ने भन्दै त्यस्ता तत्त्वहरूसँग लड्न सक्नुपर्ने उनको भनाई छ । झन् नेपाली समाजमा त अझै पनि महिलाहरूलाई खुलेर काम गर्न समस्या नै रहेको उनको अनुभव छ ।

‘सुरुसुरुमा काम गर्न मलाई पनि निकै असहज भएको थियो । महिला भएको कारणले नै होला अफिस, घर तथा छोराछोरीको जिम्मा पनि बढी मैले नै लिनुपथ्र्यो ।’ उनले आर्थिक भ्वाइससँगको कुराकानीको क्रममा सुनाइन् ।

तर राम्रो काम गरिरहेको मान्छेले सानातिना कुराहरूसँग हार मान्न नपर्ने सुझाव उनको छ । सकारात्मक सोच लिएर सही बाटोमा हिँडिरहेको मान्छेले कुनैपनी कुराहरूसँग डराउन नहुने उनी बताउँछिन् ।

खतिवडाको बिचारमा बीमाको परिभाषा
भविष्यको लागि अनिवार्य बचत हो । यस्तै सुरक्षा पनि हो । सबैले आफ्नो आवश्यकता र कमाइ अनुसारको बीमा गराउन उनको सुझाव छ । बीमाको कारणले फजुल खर्चहरू कटौती गर्दै भविष्य सुनिश्चित र सुरक्षित हुने उनको भनाई छ ।

लाइफ इन्स्योरेन्स नेपाल बहुराष्ट्रिय तथा आर्थिक हिसाबले पनि बलियो कम्पनी भएको खतिवडा बताउँछिन् । यस्तै लाइफ इन्स्योरेन्स नेपालको प्रिमियम रकमहरू पनि अरू कम्पनीहरूको तुलनामा कम भएकोले पनि यस कम्पनीमा बीमा गर्नको लागि उनको सुझाव छ । यसका साथै लाइफ इन्स्योरेन्स कम्पनी नेपाल एकदमै आर्थिक पारदर्शी कम्पनी भएको उनी बताउछिन् ।