काठमाडौँ । बीमा क्षेत्रमा बीमा अभिकर्ताको मुख्य स्थान रहेको हुन्छ । उसले सर्वसाधारणलाई बीमाका बारेमा जनचेतना फैलाउने काम मात्र गर्दैन, बरु व्यक्तिलाई कुन बीमा योजना ठीक हुन्छ भन्ने कुरामा पनि परामर्श प्रदान गर्छ । बीमा अभिकर्ता पेशाका बारेमा आर्थिक भ्वाइसले हिमालय लाइफ इन्स्योरेन्सका डिसिओ कपील कुमार दाहालसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
अभिकर्तालाई फाइनान्सियल एडभाइजर पनि भन्ने गरिन्छ । किनकि उसले बीमितलाई बीमाका बारेमा सल्लाह सुझाव दिन्छ । जीवन बीमामा एडभाइजरहरूले कल्पना नगरेको सुविधा पाइरहनुभएको हुन्छ । उनीहरू बीमा कम्पनीको मेरुदण्ड हुन् । बीमा कम्पनीका लागि भनी उनीहरू बिहानदेखि बेलुकासम्म दौडिरहनुहुन्छ । सम्भावित बीमाकर्तालाई बीमाका बारेमा ब्रिफिङ गर्नुहुन्छ । १० जनालाई पछ्याउँदा बल्ल २ जनाले बीमाको पोलिसी किन्ने गरेको पाइन्छ । बीमा गर्ने रेसियो एकदमै कम देखिन्छ ।
सबैले झट्टै बीमा गर्न मान्दैनन् । मान्छेलाई मनाउनु एकदमै चुनौतीपूर्ण काम हो । एक हिसाबले अभिकर्ताको काम सामाजिक सेवासँग पनि सम्बन्धित छ । अभिकर्ताको काम किन पनि समाज सेवा हो भन्नुहुन्छ भन्दा उसले मृतकको परिवारलाई अप्रत्यक्ष रूपमा सहायता प्रदान गरेको हुन्छ ।
दिवंगत व्यक्तिले पनि अभिकर्तालाई आशीर्वाद दिन्छ भनेर हामी भन्न सक्छौं । किनकि अभिकर्ताले उक्त मृतकलाई बीमा गर्न अभिप्रेरित नगरेको भए मृत्यु पश्चात उनका परिवारले बीमाको लाभ लिन सक्दैनथे । उनका प्रिय व्यक्ति मृत्यु पछि साथमा त नहोलान् तर क्षतिपूर्तिले परिवारलाई आर्थिक राहत प्रदान गर्छ । ब्रेड ओनरको अनुपस्थितिमा पनि अभाव भने महसुस हुँदैन । जिन्दगी चलाउन त्यो कुराले एकदमै ठूलो अर्थ राख्छ ।
मानौं कुनै एउटा अभिकर्ताले वर्षको १ करोड कमाए । लगानीकर्ताको नजरले हेर्ने हो भने वार्षिक १० करोड लगानी गर्दा १० प्रतिशत इक्युटी रिटर्न आयो भने मात्र १ करोड रुपैयाँ कमाउन सकिन्छ । यो हिसाबले अभिकर्ता १० करोड रुपैयाँको बिजनेसको मालिक हो । यो कुरा हामीले बुझिराखेका हुँदैनौं ।
अरू क्षेत्रको कुरा गर्नुहुन्छ भने त्यति नै रकम आर्जन गर्न लगानीकर्ताले चिन्तैचिन्ता बोक्नुपरेको हुन्छ । कहाँ र कस्तो ठाउँमा लगानी गरेको छु भन्ने चिन्ता लगानीकर्ताहरूमा हुन्छ । तर बीमा अभिकर्ता आफ्नोतर्फबाट एक रुपैयाँ लगानी नै नगरी करोडौँ रुपैयाँको मालिक बन्न सक्नुहुन्छ । अभिकर्ताको हैसियत लगानीकर्ता बराबरको बनेको हुन्छ ।
म यो अनुरोध गर्छु तपाईं जति अर्निङ गर्नुहुन्छ, त्यसको हजार गुणा त्यसको लगानी भइरहेको हुन्छ । रिटर्नको हिसाबले लगानी भइरहेको हुन्छ । तपाईंले कतै लगानी गरेर कमाउने रकम बीमा क्षेत्रमा कमाइरहनुभएको छ । अभिकर्ताले यसलाई ध्यान दिएको पाइँदैन । अवसर नगुमाउनुहोला ।
पेशामा जति लाग्नुहुन्छ विश्वव्यापी रूपमा आफ्नो नाम पनि बनाउन सक्नुहुन्छ । मिलियन डलर राउण्ड टेबल भन्ने संस्था छ । त्यसमा पनि काम गर्न सक्नुहुन्छ । अन्तर्राष्ट्रिय स्तरसम्म स्कोप छ । हिमालयन लाइफको अभिकर्ता भएर आफ्नो नाम स्वदेश तथा विश्वभर फैलाउनुहोला, म सबैसँग यही अनुरोध गर्छु ।