काठमाडौँ । पछिल्ला वर्षहरूमा नेपाली बजारमा विद्युतीय सवारीसाधनको उपभोग बढिरहेको देखिएको छ । भन्सार विभागको तथ्याङ्क नियाल्ने हो भने पछिल्लो छ वर्षमै आश्चर्यजनक रूपमा विद्युतीय सवारीसाधनको आयात बढिरहेको छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जम्मा एउटा चार पाङ्ग्रे इभी नेपाली बजारमा भित्रिएको थियो । त्यसपछि आव २०७७/७८ त्यो संख्या बढेर २४९ पुग्यो । आव २०७८/७९ भरि कुल १ हजार ८ सय ७ वटा चार पाङ्ग्रे सवारी भित्रिए । यी तीन आर्थिक वर्षमा औसत रूपमा ६ सय ८६ वटा चार पाङ्ग्रे इभी गाडी भित्रिएका थिए ।
इभी गाडीको आयात बढ्ने क्रम आर्थिक वर्ष २०७९/८० मा पनि उकालो नै लागिरह्यो । त्यस वर्ष इभी सवारीसाधनको आयात अघिल्लो वर्षको तुलनामा करिब १२४ प्रतिशतले बढ्यो । त्यस आर्थिक वर्षमा ४ हजार ५० वटा इभी कार, जीप र भ्यान आयात भएका थिए ।
नेपाली अटो बजारले हालसम्मकै सर्वाधिक चार पाङ्ग्रे इभी गाडीको आयात भने आर्थिक वर्ष २०८०/८१ मा देख्यो । त्यस वर्ष ११ हजार ७ सय १ चार पाङ्ग्रे इभी आयात गरिएको थियो । यो संख्या अघिल्लो वर्षको तुलनामा झण्डै १९० प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म करिब १८ अर्ब मूल्य बराबरका ७ हजार ९ सय ६७ वटा चार पाङ्ग्रे इभीको आयात भइसकेको छ । आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म आइपुग्दा चार पाङ्ग्रे इभीको आयातको औसतमा वृद्धि दर ६७३४ प्रतिशत देखिन आउँछ । यो तथ्यले पनि इभीको लोकप्रियताले नयाँ उचाइ चुमिरहेको पुष्टि गर्दछ ।

कार्बन उत्सर्जनलाई कम गर्दै वातावरणमैत्री मोबिलिटीलाई प्रोत्साहित गर्नका लागि इभी गाडीको प्रयोग बढिरहेको देखिन्छ । इभी सवारीसाधनको आयात बढिरहँदा त्यसको सञ्चालनका लागि आवश्यक पर्ने चार्जिङ स्टेसन र अन्य पूर्वाधारको भने पर्याप्त विकास नभएको इभी प्रयोगकर्ताहरूको गुनासो रहँदै आएको छ ।
तिनै गुनासोलाई सम्बोधन गर्न नेपाल विद्युत प्राधिकरणले देशभरि चार्जिङ स्टेसनको निर्माणलाई तीव्रता दिइरहेको छ । प्राधिकरणका अनुसार हाल देशभर कुल ७८.८ मेगावाट क्षमताका ७२४ वटा चार्जिङ स्टेसन सञ्चालनमा छन् । जसमध्ये ८.८ मेगावाट क्षमताका ६२ वटा स्टेसन प्राधिकरण आफैँले सञ्चालन गरिरहेको छ भने ६० मेगावाट क्षमताका ५१२ वटा वटा स्टेसन प्राधिकरणको ट्रान्सफर्मर सहयोगमा निजी क्षेत्रले सञ्चालन गरिरहेका छन् ।
यस्तै १० मेगावाट क्षमताका १५० स्टेसनहरू भने प्राधिकरणबाट ट्रान्सफर्मरको सहयोग नलिइकन निजी क्षेत्रबाट सञ्चालित छन् । यसका अतिरिक्त देशका विभिन्न स्थानमा ७५० वटा स्टेसन सञ्चालनका लागि अनुमति पनि दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको चार्जिङ स्टेशन निर्देशनालयका अनुसार प्राधिकरणका ६२ वटा स्टेसनबाट औसतमा दैनिक ३० हजार युनिट विद्युत खपत हुने गरेको छ । जबकि देशभरका सबै ७२४ स्टेसनको उक्त औसत ३ लाख २२ हजार युनिट हुन आउँछ । यसले पनि देशभित्र विद्युतीय सवारीसाधन अपनाउनेको संख्या बढ्दै गएको र चार्जिङ स्टेसनको मागमा पनि वृद्धि भएको पुष्टि गरेको छ ।
चार्जिङको पूर्वाधार विकासमा अझै ध्यान दिन आवश्यक
सीजी होल्डिङका प्रबन्ध निर्देशक तथा नाडाका अध्यक्ष करण चौधरी सरकारले इभी चार्जिङको पूर्वाधार विकासमा अझै धेरै ध्यान दिन आवश्यक रहेको बताउँछन् । विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि सरकारले लिएको लक्ष्य प्राप्त गर्नका लागि चार्जिङ स्टेसनहरूको निर्माण अपरिहार्य रहेकोमा उनले जोड दिए ।
“विद्युतीय सवारीसाधन आयातकर्ता, निजी क्षेत्रका कम्पनी तथा नेपाल विद्युत प्राधिकरणले सवारी आवागमन हुने प्रमुख रुटहरू पहिचान गरी चार्जिङ स्टेसनहरू स्थापना गरेका छन् । यद्यपि यो पूर्वाधार अहिलेको लागि अझै पर्याप्त छैन”, आर्थिक भ्वाइससँगको कुराकानीमा उनले बताए, “चार्जिङ स्टेसनको अपर्याप्ताकै कारण इभीका सम्भावित प्रयोगकर्ताहरू ती गाडीको खरिदका लागि पूर्णतः विश्वस्त हुन सकेका छैनन् ।”
ग्रामीण तथा दुर्गम क्षेत्रमा चार्जिङ स्टेसनहरूको पहुँच अझै कम रहेको बताउँदै उनले त्यस्ता स्थानहरूमा चार्जिङ स्टेसनको निर्माण तथा सञ्चालन फिजिबिलिटीको दृष्टिकोणले अझै पनि चुनौतीपूर्ण रहेको जिकिर गरे ।
यद्यपि प्रमुख राजमार्गहरू महेन्द्र राजमार्ग, बीपी राजमार्ग, पृथ्वी राजमार्ग र नारायणघाट मुग्लिन सडक खण्डमा सञ्चालित चार्जिङ स्टेसनहरूले लामो दूरीमा चल्ने इभीलाई केही हदसम्म सहजता प्रदान गरिरहेको उनको दाबी थियो ।






