काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस्तो देखिएको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ लाख १ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ३८१२.८४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको खुद बीमाशुल्क आर्जनमा समेत वृद्धि भएको छ ।
गत वर्ष १ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क रहेको कम्पनीको चालू आवमा बढेर साढे १९ करोड नजिक पुगेको छ। यससँगै कुल आम्दानीमा समेत ५ करोड ४२ लाख रुपैयाँबाट बढेर साढे २५ करोड रुपैयाँ नाघेको छ।
चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको महाविपत्ति कोषमा २९ लाख ३५ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा १ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा ३२ लाख ५६ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा १ लाख ९२ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ५ लाख ७३ रुपैयाँ र अन्य इक्विटीमा ३२ लाख ४८ हजार रुपैयाँ रहेको थियो।
यसै अवधिमा कम्पनीको सञ्चालन खर्च पनि ५ करोड ३५ लाख रुपैयाँबाट बढेर २२ करोड ७७ लाख रुपैयाँ पुगेको छ। कम्पनीको जीवन बीमा कोषमा १२ करोड ५९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १ करोड १४ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १००१।४७ प्रतिशतले बढेको छ।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा समेत वृद्धि भएको छ । गत वर्ष कम्पनीको ईपीएस १८ पैसा मात्रै रहेकोमा यस वर्ष बढेर ४ रुपैयाँ ८८ पैसा पुगेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।






