काठमडौं । सुरक्षा चिन्तालाई प्रमुख कारण देखाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेशमा थप कडा नियम लागू गरेका छन्। हालै उनले एक कार्यकारी आदेशमार्फत १२ देशका नागरिकहरूलाई अमेरिका छिर्न नपाउने घोषणा गरेका छन्।

ट्रम्पले हस्ताक्षर गरेको आदेश अनुसार अब अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूलाई पूर्ण प्रतिबन्ध लागु हुनेछ। यी देशले अब अमेरिकी भुमिमा प्रवेश पाउने छैनन्।

त्यसबाहेकका बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाजस्ता देशका नागरिकमाथि आंशिक यात्रा प्रतिबन्ध लगाइएको छ। रोयटर्सले जनाए अनुसार, यी देशका नागरिकहरूको अमेरिका प्रवेशमा विशेष अवस्था वा कडाइका साथ अनुमति दिइनेछ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसलु मा भिडियोमार्फत भनाइ सार्वजनिक गर्दै,’ हामी हाम्रो देशमा जोखिम निम्त्याउनेहरूलाई स्वागत गर्दैनौं, भनेका छन्। उनले प्रतिबन्ध लगाइएका देशहरूको सूचीमा आगामी दिनमा थप संशोधन हुनसक्ने संकेत पनि गरेका छन्।

यी नयाँ प्रतिबन्धहरू आगामी जुन ९ देखि औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।