काठमाडौँ । बागलुङको तमानखोला गाउँपालिकाले नीति कार्यक्रम तथा बजेट (आज) मंगलवार विनियोजन गरेको छ । हरेक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक प्रावधान पछ्याउँदै तमानखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेको हो ।
तमानखोला गाउँपालिले आगामी आवका लागि ३३ करोड ४१ लाख ६ हजार २ सय ६५ रुपैयाँको बजेट प्रस्तुत गरेको हो । पालीका अध्यक्ष जोकलाल बुढा र उपाध्यक्ष हिरा कुमारी छन्त्यालले प्रस्तुत गरेको उक्त बजेटमा शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।
पालीकाले कूल बजेटमध्ये पुँजीगत खर्चतर्फ ७ करोड ९४ लाख १७ हजार र चालू खर्चतर्फ २५ करोड ४६ लाख ८९ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । आगामी बजेट मार्फत पालिकाले शिक्षामा २ करोड ५२ लाख ५० हजार र स्वास्थ्यतर्फ १ करोड ६४ लाख ५५ हजार बराबर र पूर्वाधार विकासतर्फ (कर्मागत समेत गरेर) ६ करोड १५ लाख ८४ हजार (पालीका र वडामा एकमुष्ट) विनियोजन गरिएको छ।
साथै संघीय सरकार सशर्त अनुदानतर्फ ११ करोड ७५ लाख रुपैयाँ , संघीय सरकार विशेष अनुदान मार्फत ७ लाख ५० हजार रुपैयाँ , संघीय सरकार समपूरक अनुदानतर्फ ८० लाख रुपैयाँ र प्रदेश सरकार समपूरक अनुदानतर्फ ६० लाख रुपैयाँ, प्रदेश सरकार विशेष अनुदान ३९ लाख रुपैयाँ विनियोजन गरिएको हो ।
पालिकाले आर्थिक विकास कृर्षि,पर्यटन,उद्योग स्थापना,पशुपन्छी विकास, सहकारी र वित्तीय क्षेत्र लगायतलाई प्राथमिकतामा राखेको छ । साथै पालिकाले नीति कार्यक्रम मार्फत प्रविधिमैत्री सिकाई, मिसन रोजगारी, उद्यमशील बन्न चाहनेका लागि सहुलियत ब्याजदर लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले जानकारी दिएका छन् ।
विगतमा राखिएका उत्कृष्ट कार्यक्रमहरूलाई निरन्तरता दिँदै पालीकाले सिपमूलक र प्रविधिमैत्री शिक्षामा जोड दिनेगरि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाएको प्रमुख प्रशासकीय अधिकृत अमित परियारले जानकारी दिएका छन् ।








