काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड गरिएको छ। कम्पनीले निष्काशन गरेको ४२ प्रतिशत हकप्रद शेयर भदौ ८ गते बाँडफाँड गरिएको हो । कम्पनीले गत जेठ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीका लागि असार २५ गतेदेखि साउन २० गतेसम्म प्रति शेयर १०० रुपैयाँ अंकित दरको निष्काशन खुला गरेको थियो ।
कुल १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलब ४८ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको हो । कुल निष्काशनमध्ये रितपूर्वक आवेदन दिएका २७ हजार ६२२ जना आवेदकलाई १ करोड ३९ लाख २० हजार ८०० कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको छ । कुल निष्काशन गरिएको हकप्रदमध्ये ३ लाख ५८ हजार ५१२ दशमलब ४८ कित्ता शेयर भने अवितरित रहेको छ । यो शेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री गर्नेछ ।
आफ्नो कायम हकभन्दा बढी शेयर माग राखि दरखास्त दिने आवेदकको हकमा बाँडफाँडमा नपरेको हकप्रद शेयर बापतको रकम भदौ ११ गतेदेखि आईपीएसमार्फत आवेदकहरूको बैंक खातामा जम्मा गरिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।






