काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकले आगामी महिना असोज २ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। बैंकले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

जस अनुसार बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ बराबरको प्रतिसेयर सय रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

हकप्रद सेयर निष्काशनका लागि बैंकले भदौ ९ गते बुक क्लोज गरेको थियो। यसअनुसार भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयर धनीहरूले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

त्यसका लागि बैंकको हकप्रद सेयरमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ। बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। हाल बैंकको चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ रहेको छ।

हकप्रद निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ। गत आर्थिक वर्षमा नारायणी डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा ५० प्रतिशतभन्दा माथि पुगेको छ ।