काठमाडौँ । शिवश्री हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। कम्पनीले हाल कायम १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ चुक्तापूँजी बराबरको शतप्रतिशत (१ः१ अनुपात) मा प्रति कित्ता रु. १०० अंकित दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो।

यसअघि कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि साउन १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। यसअनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनी मात्र हकप्रद खरिदका लागि योग्य हुनेछन्।

हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज ८ गते तोकिएको छ। लगानीकर्ताले बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडमार्फत साथै सिटिजन्स बैंकका कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौडा शाखाबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

शिवश्री हाइड्रोपावरको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले लिएको छ। कम्पनीले गत साउन ४ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासनको स्वीकृति प्राप्त गरेको थियो।