काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद पुनः थप गरेको छ। अब लगानीकर्ताले असोज ५ गतेसम्म आवेदन दिन सक्नेछन्।
यसअघि आवेदन दिने अन्तिम म्याद भदौ ३१ गतेसम्म तोकिएको भए पनि, हाल देशमा उत्पन्न विशेष परिस्थितिलाई मध्यनजर गर्दै अन्तिम पटकका लागि असोज ५ गतेसम्म समय थप गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा १०० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो। यस अन्तर्गत ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर जारी गरिएका छन्, जसको कुल मूल्य ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ हुन्छ।
यसका लागि कम्पनीले असार २७ गते बुक क्लोज गरेको थियो। तसर्थ असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्।
शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले सम्हालेको छ।






