ललितपुर । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकले सामना गरेका राजनीतिक सङ्कट राष्ट्रिय सहमतिबाट मात्रै समाधान गर्न सकिने बताएका छन् ।
विगतमा पनि राष्ट्रिय सहमति र समझदारीबाटै समाधान भएको स्मरण गराउँदै उनले वर्तमान सङ्कटको निकास पनि त्यही बाटोबाट खोज्नुपर्ने बताए ।
शुक्रबार ललितपुरमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तर्क्रियामा उनले हालको अवस्थालाई भयानक एपिसोडको संज्ञा दिँदै यसबाट पार पाउन सबै दलहरूले अहङ्कार र व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देशका प्रमुख तीन राजनीतिक दल र तिनका शीर्ष नेताहरूलाई एउटै डालोमा राखेर मूल्याङ्कन गर्ने भाष्य निर्माण भएकोमा गुनासो पोखेका छन् ।
सुशासनका लागि लड्ने माओवादी र भ्रष्टाचारलाई संरक्षण गर्ने अर्को पक्षलाई उस्तै देखाइनु दुर्भाग्यपूर्ण भएको उनको तर्क थियो ।
प्रचण्डले पूर्ववर्ती सरकारको नेतृत्वमा रहेको अहङ्कारकै कारण देशले ठुलो राजनीतिक सङ्कट व्यहोर्नुपरेको टिप्पणी गरेका छन् ।
उनले हिजो सरकारको नेतृत्व गर्ने पार्टीमा अझै पनि त्यो अहङ्कार नगएको भन्दै कटाक्ष गरे । प्रचण्डले भने, ’हिजो सरकारको नेतृत्व गर्ने पार्टीका साथीहरूमा रहेको अहङ्कार अझै गएको छैन। यो देख्दा मलाई दुःख लागेको छ।’
उनले जनताको भावना र देशको आवश्यकतालाई भन्दा आफ्नो मनोगत अहङ्कारलाई प्राथमिकता दिने प्रवृत्तिले नै सङ्कट निम्त्याएको बताए ।