काठमाडौँ। अन्तर–बैंक कारोबारमा चालु आर्थिक वर्षको कात्तिक महिनासम्म उल्लेख्य गिरावट देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा वाणिज्य बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाबीचको अन्तर–बैंक कारोबार अघिल्लो वर्षको तुलनामा भारी मात्रामा घटेको हो।

राष्ट्र बैंकका अनुसार चालु आवको चार महिनामा वाणिज्य बैंकहरूबीच भएको अन्तर–बैंक कारोबार २ खर्ब ८८ अर्ब ९१ करोड रुपैयाँमा सीमित भएको छ। यसै अवधिमा वाणिज्य बैंकबाहेकका अन्य बैंक तथा वित्तीय संस्थाहरूबीच ६५ अर्ब २४ करोड रुपैयाँको अन्तर- बैंक कारोबार भएको छ। यसरी कुल अन्तर–बैंक कारोबार ३ खर्ब ५४ अर्ब १५ करोड रुपैयाँमा झरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने वाणिज्य बैंकहरूको अन्तर–बैंक कारोबार ४ खर्ब ७० अर्ब ३० करोड रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थाहरूको ६१ अर्ब ८० करोड रुपैयाँ गरी कुल ५ खर्ब ३२ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यस आधारमा चालु आवको चार महिनामा अन्तर–बैंक कारोबार करिब १ खर्ब ७८ अर्ब रुपैयाँले घटेको देखिन्छ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नर बहादुर थापाका अनुसार बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था रहँदा बैंकहरूबीच छोटो अवधिका लागि हुने लेनदेनको आवश्यकता घटेको जनाएका छन् । निक्षेप बढे पनि कर्जा प्रवाह अपेक्षाअनुसार विस्तार हुन नसक्दा बैंकहरू आफैंसँग पर्याप्त तरलता भएको अवस्था देखिएको छ, जसका कारण अन्तर–बैंक कारोबारमा संकुचन आएको उनको भनाई छ ।

‘अन्तर बैंक ब्याजदर पनि न्यून विन्दुमा सीमित रहेको छ। पछिल्लो समय अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेको अवस्थामा बैंकहरूले एक-अर्कासँग ऋण सापटी लिने आवश्यकता न्यून भएको देखिन्छ। यही अवस्थाले अन्तर–बैंक कारोबारको आकार घटाएको छ।’ विश्लेषक थापाले भने

केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि खुला बजार सञ्चालनमार्फत नियमित रूपमा रकम प्रशोचन गरिरहेको भए पनि कर्जा माग कमजोर रहेकाले बैंकिङ प्रणालीमा तरलताको दबाब कायम नै छ। यस्तो अवस्थामा अन्तर–बैंक कारोबारमा आएको गिरावटले बैंकिङ प्रणालीमा तरलता प्रशस्त रहेको संकेत गर्ने विश्लेषक थापाको बुझाइ छ ।