काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सामाजिक सञ्जालका गतिविधिलाई पनि निर्वाचन आचारसंहिताको दायराभित्र समेटेको छ।

आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ। आचारसंहिताले निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले नक्कली एकाउन्ट सञ्चालन गर्न, फेक साइट खोल्न वा त्यसमार्फत सामग्री सम्प्रेषण गर्न निषेध गरेको छ।

त्यसैगरी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी वा नगरी सामाजिक सञ्जालमा कसैलाई होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना फैलाउने, अपमानजनक टिप्पणी गर्ने वा द्वेषपूर्ण भाषण गर्नसमेत नपाइने स्पष्ट गरिएको छ। कुनै प्रयोजनका लागि प्रकाशित वा प्रसारित सामग्रीलाई एआईको प्रयोग गरेर वा नगरी तोडमोड गरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले पोस्ट, रिपोस्ट, कमेन्ट, प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन गर्न वा गराउन पनि निषेध गरिएको छ।

आचारसंहितामा निर्वाचनको विश्वसनीयता कमजोर पार्ने वा निर्वाचन आयोग, आयुक्त तथा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पर्ने खालका अवाञ्छित आरोप–प्रत्यारोप गर्न नपाइने व्यवस्था गरिएको छ। कसैको चरित्रहत्या गर्ने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी गर्ने वा यस्तै प्रकृतिका सामग्री उत्पादन, प्रकाशन वा प्रसारण गर्न पनि रोक लगाइएको छ।

त्यसैगरी, मतदाता तथा मतदाताको गोपनीयता भङ्ग गर्ने, निर्वाचनको स्वच्छता र निष्पक्षतामा असर पार्ने कुनै पनि कार्य गर्न नपाइने प्रावधान आचारसंहितामा समेटिएको छ। निर्वाचन आयोगले आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको जनाएको छ।