काठमाण्डौ । थप दुई कम्पनीले शतप्रतिशत दरमा हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति मागेका छन्। साहज उर्जा लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन्।

साहज उर्जा लिमिटेडले १ः१ अनुपातमा ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बराबरको ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको छ। कम्पनीले माघ २३ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको हो। यस कम्पनीको बिक्री प्रबन्धकका रूपमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले पनि १ः१ अनुपातमै १ अर्ब ७९ करोड ८१ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख ८१ हजार २११ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको छ। कम्पनीले पनि माघ २३ गते नै बोर्डमा निवेदन दिएको हो। यस कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएसँगै दुवै कम्पनीले हकप्रद सेयर निष्कासन प्रक्रिया अगाडि बढाउनेछन्।