काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो सात महिनासम्म विकास बैंकहरूले कुल ४ अर्ब १ करोड ३३ लाख रुपैयाँ नाफा कमाएका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६०.५४ प्रतिशतले बढी हो। विकास बैंकहरूले अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए।
समीक्षा अवधिसम्म आइपुग्दा १३ विकास बैंक नाफामा रहेका छन् भने ४ बैंक घाटामा रहेका छन्। नाफामा रहेका अधिकांश बैंकहरूले गत वर्षको तुलनामा उल्लेख्य रूपमा मुनाफा बढाएका छन्।
सो अवधिसम्म सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक अग्रस्थानमा रहेको छ। बैंकले ८२ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३०.५० प्रतिशतले बढी हो। त्यसैगरी गरिमा विकास बैंकले ७७ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.०८ प्रतिशतले बढी हो।
यसैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५१ करोड ८२ लाख, कामना सेवा विकास बैंकले ४७ करोड ६० लाख, ज्योति विकास बैंकले ३८ करोड ५६ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ३५ करोड ७६ लाख, महालक्ष्मी विकास बैंकले २८ करोड ३४ लाख र लुम्बिनी विकास बैंकले २६ करोड ४८ लाख रुपैयाँ नाफा कमाएका छन्।
त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकले ७ करोड १९ लाख, मितेरी डेभलपमेन्ट बैंकले ६ करोड ८० लाख, कर्णाली डेभलपमेन्ट बैंकले २ करोड ९१ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले २ करोड ७३ लाख र ग्रीन डेभलपमेन्ट बैंकले १ करोड ७२ लाख रुपैयाँ नाफा कमाएका छन्।








