काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वाणिज्य बैंकहरूको समग्र नाफा उल्लेख्य रूपमा घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको मंसिर मसान्तसम्म ३० अर्ब २४ करोड ७ लाख रुपैयाँ खुद मुनाफा कमाएका वाणिज्य बैंकहरूले चालु आवको सोही अवधिमा जम्मा २५ अर्ब ७२ करोड ८ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेका छन्। यो गत वर्षको तुलनामा १७.५७ प्रतिशतले कम हो।

निक्षेप क्रमिक रूपमा बढ्दै गए पनि ऋणको माग अपेक्षाकृत नबढ्नु, पहिले प्रवाह गरिएको ऋणको साँवा–ब्याज असुलीमा समस्या आउनु तथा खराब कर्जाको मात्रा बढ्दै जानुले बैंकहरूको नाफामा दबाब परेको हो। यी कारणले गर्दा अधिकांश वाणिज्य बैंकको नाफा घटेको देखिएको छ।

चालु आवको मंसिर महिनासम्ममा जम्मा ६ वटा वाणिज्य बैंकको मात्रै नाफा वृद्धि भएको छ। नाफा बढ्ने बैंकहरूमा कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक र माछापुच्छ्रे बैंक रहेका छन्।

गत वर्ष मंसिरसम्म ३५ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेको कृषि विकास बैंक चालु आवको मंसिरसम्म आइपुग्दा ४१ करोड ७२ लाख रुपैयाँ खुद मुनाफामा पुगेको छ। राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा २०.९१ प्रतिशतले वृद्धि भई ८६ करोड ७२ लाख रुपैयाँबाट १ अर्ब ९ करोड ६७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै सानिमा बैंकले ९० करोड ४१ लाख रुपैयाँबाट नाफा बढाएर १ अर्ब ६ करोड २९ लाख रुपैयाँ पुर्याएको छ।

ग्लोबल आईएमई बैंकले १२.०४ प्रतिशतले नाफा वृद्धि गर्दै ३ अर्ब २२ करोड २६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। सिद्धार्थ बैंकले १ अर्ब रुपैयाँ तथा माछापुच्छ्रे बैंकले ८४ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। यता प्रतिशतका आधारमा सबैभन्दा धेरै नाफा घट्ने बैंकमा सिटिजन्स बैंक रहेको छ। गत वर्ष मंसिरमा ६९ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा कमाएको बैंकको नाफा चालु आवको मंसिरसम्म १८५.०९ प्रतिशतले घटेर २४ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ।

नेपाल बैंकको नाफा १५६.७१ प्रतिशतले घटेर ५९ करोड ५ लाख रुपैयाँमा झरेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १०२.१३ प्रतिशतले घटेर १ अर्ब २३ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै लक्ष्मी सनराइज बैंकको नाफा ७७.०६ प्रतिशत, प्रभु बैंकको ५७.४८ प्रतिशत, नेपाल एसबीआई बैंकको ४९.०७ प्रतिशत, कुमारी बैंकको ३०.७२ प्रतिशत, हिमालयन बैंकको १८.१६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १८.१२ प्रतिशत, एनएमबी बैंकको १५.१४ प्रतिशत, नबिल बैंकको १२.१८ प्रतिशत, एनआईसी एसिया बैंकको ६.५४ प्रतिशत, एभरेष्ट बैंकको २.२९ प्रतिशत र प्राइम कमर्सियल बैंकको २.२३ प्रतिशतले नाफा घटेको छ।

चालु आवको मंसिर मसान्तसम्म १३ वटा वाणिज्य बैंकको खुद नाफा १ अर्ब रुपैयाँ नाघेको छ। सबैभन्दा धेरै नाफा ग्लोबल आईएमई बैंकले ३ अर्ब २२ करोड रुपैयाँ कमाएको छ भने दोस्रो स्थानमा रहेको नबिल बैंकले ३ अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। त्यसैगरी प्राइम कमर्सियल बैंकले १ अर्ब ९२ करोड, एभरेष्ट बैंकले १ अर्ब ८९ करोड, एनएमबी बैंकले १ अर्ब ६५ करोड, कुमारी बैंकले १ अर्ब ५२ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २३ करोड, प्रभु बैंकले १ अर्ब १६ करोड, हिमालयन बैंकले १ अर्ब १३ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ९ करोड, सानिमा बैंकले १ अर्ब ६ करोड तथा सिद्धार्थ बैंकले १ अर्ब रुपैयाँ खुद मुनाफा कमाएका छन्।

लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक, नेपाल बैंक, कृषि विकास बैंक र सिटिजन्स बैंकको नाफा भने १ अर्ब रुपैयाँभन्दा कम रहेको छ। सबैभन्दा कम नाफा सिटिजन्स बैंकले २४ करोड ३८ लाख रुपैयाँ कमाएको तथ्यांकले देखाएको छ।