काठमाडौं। देशमा दुई तिहाईको बलियो सरकार बनेपछि धेरैले सेयर बजारमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरेका छन्। पछिल्ला केही दिनमा सेयर बजारमा उतार-चढाव देखिए पनि बजारको आगामी दिशा नयाँ र बलियो सरकारले उकालो यात्रातर्फ लगाउने अपेक्षा धेरैमा देखिन्छ।

त्यसको केही संकेत बुधबारको नेप्से परिसूचकले पनि गरिसकेको छ। बुधबार नेप्से ४५.१२ अंकले वृद्धि हुँदै २८०२.५२ विन्दुमा पुगेको छ। नेप्से उकालो यात्रामा रहँदा सेयर बजारमा विभिन्न सुधारका आवाजहरू पनि उठिरहन्छन्। लगानीकर्ताहरूले बजारमा विभिन्न सुधारका अपेक्षा गरेका छन्।

सामान्यतया लगानीकर्ताहरूले निम्न माग उठाउँदै आइरहेको पाइन्छ : 

१. नेपाल स्टक एक्सचेन्जलाई पुनःसंरचना गर्न गठित समितिको सिफारिस बमोजिम पुनःसंरचनाको स्पष्ट खाकासहित आवश्यक निर्णय गर्न अर्थ मन्त्रालयले १५ दिन भित्र मन्त्रिपरिषदमा प्रस्ताव लैजाने।

२. विगतमा भएका सार्वजनिक निष्कासनहरूको छानविन गर्न, बेथिति हटाउन र दोषीलाई कारबाही गर्न १५ दिन भित्र उच्चस्तरीय समिति गठन गर्ने र अब हुने सार्वजनिक निष्कासन सो समितिको सिफारिस अनुसार कार्यविधि निर्माण गरेर मात्र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति दिने।

३. नेपाल धितोपत्र बोर्डको पुनःसंरचना गर्न र धितोपत्र ऐन २०६३ माथि संशोधन गर्न अर्थ मन्त्रालयले १५ दिन भित्र कार्यदल गठन गर्ने।

४. नेप्सेले पेश गरेको साना तथा मझौला कम्पनीहरूको कारोबार हुने एसएमई प्लेटफर्म सम्बन्धी नियमहरू नेपाल धितोपत्र बोर्डबाट तीन दिन भित्र स्वीकृत गरी १५ दिन भित्रमा एसएमई प्लेटफर्म संचालनमा ल्याउने।

५. विदेशमा रहेका नेपाली र अन्य व्यवसायमा संलग्न लगानीकर्ताहरूले नेप्सेको नियमित कारोबार समयमा खरिद(बिक्री आदेश राख्न नसक्ने समस्या समाधान गर्न नेप्सेले गरेको नीतिगत व्यवस्था नेपाल धितोपत्र बोर्डले तीन दिन भित्र स्वीकृत गरी अफलाइन आदेश राख्नसक्ने व्यवस्था तत्काल गर्ने।

६. बोनस र हकप्रदको मूल्य समायोजन हुँदा नै सोबापत पछि प्राप्त हुने बोनस वा हकप्रद सेयरको समायोजित लागत मूल्य कायम हुने स्वचालित प्रणाली विकास गर्ने। लगानीकर्ताले आफ्नो युजरआईडी र पासवर्ड प्रयोग गरी कारोबार व्यवस्थापन प्रणालीबाट आफैले गरेको सेयर बिक्रीको स्वतः ईडिआईएस हुने गरी धितोपत्र बोर्ड, नेप्से र सीडीएससीले आवश्यक व्यवस्था मिलाएर ५ दिन भित्र कार्यान्वयनमा ल्याउने।

७. सेयर दलालमार्फत मार्जिन कारोबार ५ दिन भित्र सुरु गर्ने र मार्जिन कारोबार संचालनको स्वीकृति माग गर्ने दलालहरूलाई नेप्सेले तत्काल स्वीकृति दिने।

८. लगानीकर्ताले धितोपत्र बोर्ड, नेप्से र सीडीएससीमा गरेको उजुरी वा गुनासोको तीन दिन भित्र सुनुवाई हुने वा नहुने कारण खोली सोही माध्यमबाट सरोकारवालालाई जवाफ दिने गरी ५ दिन भित्र संयन्त्र विकास गरेर कार्यान्वयनमा ल्याउने।

९. हकभन्दा बढी हकप्रदमा आवेदन गर्न पाउने व्यवस्था गरी नबिकेको सेयर लिलामको अनलाइन बिडिङ प्रणाली निर्माण गरी ३० दिन भित्र सीडीएससीले कार्यान्वयनमा ल्याउने।

१०. सूचीकृत संगठित संस्थाहरूको सुशासन सम्बन्धी निर्देशिका संशोधन गरी हरेक कम्पनीमा २५ प्रतिशत संस्थापक हिस्सेदारी अनिवार्य गर्ने। सो नभएका कम्पनीहरूको हकमा नेपाल धितोपत्र बोर्डको रोष्टरमा सूचीकृत स्वतन्त्र संचालक बन्न योग्य सूचीमा रहेका व्यक्तिहरूबाट कम्तिमा ४ जना संचालक आगामी साधारणसभाबाट नियुक्त गर्ने व्यवस्था गर्ने। कम्पनीहरूको साधारणसभा भिडियो कन्फरेन्सको आधारमा समेत हुने, प्रस्ताव पारित गर्ने र संचालक निर्वाचनका लागि अनलाइन भोटिङका लागि नेपाल धितोपत्र बोर्ड र सीडीएससीले आवश्यक व्यवस्था मिलाउने।

११. धितोपत्र बोर्ड, नेप्से, बीमा प्राधिकरण र सीडीएससीका संचालक तथा कर्मचारीहरूले आफ्नो सम्पत्ति विवरण १५ दिन भित्र सम्बन्धित कार्यालय प्रमुख मार्फत अर्थ मन्त्रालयमा पठाउनु पर्ने।

१२. गैर-आवासीय नेपालीहरूले दोस्रो बजारमा लगानी गर्ने कार्यविधि नेपाल धितोपत्र बोर्डले १५ दिन भित्र तयार पारेर सम्बन्धित निकायहरूको समन्वयमा कार्यान्वयनमा ल्याउने।

१३. सूचीकृत लगानी कम्पनीहरूले आफ्नो जम्मा पोर्टफोलियोको ५० प्रतिशत दोस्रो बजारमा मार्जिन कारोबार योग्य कम्पनीहरूको सेयरमा विविधिकरण गरी लगानी गर्नसक्ने गरी नेपाल धितोपत्र बोर्डले तत्काल कार्यक्षेत्र विस्तार गर्ने।

१४. सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको बार्षिक साधारणसभा चालु आर्थिक वर्षको अन्त्यसम्म नगरेको भए सम्बन्धित कम्पनीका संचालक र प्रमुख कार्यकारी अधिकृतलाई व्यक्तिगत रूपमा जिम्मेवार बनाउँदै जनही एक लाख जरिवाना गर्ने र सो रकम लगानीकर्ता संरक्षण कोषमा दाखिल गर्न नेपाल धितोपत्र बोर्डले आवश्यक व्यवस्था मिलाउने।

१५. सार्वजनिक निष्कासन भएका धितोपत्रहरूमा कर्नरिङ र विकृति हटाउन सामूहिक लगानी कोषहरूलाई लगाइएको ६ महिनाको लक(इन अवधि तत्काल हटाउने।

१६. तल्लो निकायबाट प्रस्ताव भएका नीति, नियम, निर्देशिका, कार्यविधिहरू उपल्लो निकायले सात दिन भित्र स्वीकृत गरी पठाउने।

१७. बजारको स्वच्छतालाई अभिवृद्धि गर्न धितोपत्र बोर्डबाट परामर्श सेवा दिन अनुमति लिएकाले मात्र खरिद(बिक्री र बजार सम्बन्धी परामर्श दिन पाउने। विभिन्न संचार माध्यम र सामाजिक संजालबाट समूह बनाई शुल्क लिएर वा नलिई सक्कली वा नक्कली नामबाट किनबेचको सल्लाह दिने, अफवाह फैलाउने, म्यानुपुलेशन गर्ने व्यक्तिलाई कारबाही गर्ने। धितोपत्र बोर्ड र नेप्सेले आवश्यक व्यवस्था गरी ३० दिन भित्र स्वचालित सर्भिल्यान्स कार्यान्वयनमा ल्याउने।

सेयर बजारमा सुधारको आवश्यकता

यसैबीच सेयर बजारमा के के कस्तो सुधार आवश्यक छ भन्ने विषयमा आर्थिक भ्वाइसले लगानीकर्ता छोटेलाल रौनीयारसँग कुराकानी गरको छ। रौनियारले पनि नयाँ सरकारले सेयर बजारमा सुधार गर्दै अगाडि बढ्नुपर्ने सुझाए।

उनले भने, “लगानीकर्ताको सुरक्षाका लागि नीतिगत रूपमा सुधार आवश्यक छ। बैंक तथा वित्तीय संस्थाका सेयर दिनदिनै खरिद-बिक्री गर्न पाउनुपर्छ, क्यापिटल गेन ट्याक्समा पनि १ प्रतिशत कम गरिदिए सहज हुन्थ्यो। ब्रोकर कमिशनहरू पनि दुई तिरबाट कमिशन छ, एकतिरबाट मात्रै कमिशन लिन पाइने नीति अघि सार्नुपर्यो। यस्ता कुराहरूको सुधारले बजारमा लगानीकर्तालाई सहजता हुन्छ।

लगानीकर्ताका लागि सल्लाह

उनले सेयर बजारमा लगानी गर्दा बजार अध्ययन, कम्पनीको वित्तीय अवस्था बुझ्ने र दीर्घकालीन दृष्टिकोण अपनाउने कुरामा ध्यान दिन लगानीकर्तालाई सुझाए। आजको बजारमा बैंकिङ, वित्तीय सेवा र ऊर्जा क्षेत्रका कम्पनीहरूमा उच्च तरलता देखिएको छ। लगानीकर्ताले अफवाह, म्यानुपुलेसन र सामाजिक सञ्जालबाट फैलिने गलत जानकारीबाट सचेत रहनुपर्नेमा रौनियारले जोड दिए।

हालको अवस्थामा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएकाले र ब्याजदर कम रहेकाले सेयर बजारमा लगानीका लागि सकारात्मक वित्तीय इन्डिकेटरहरू रहेको रौनियारले बताए।

तर, लगानीकर्ताले अफवाह, म्यानुपुलेसन र सामाजिक सञ्जालबाट फैलिने गलत जानकारीबाट सचेत रहनुपर्नेमा रौनियारले जोड दिए।

नयाँ स्टक एक्सचेन्जको स्थापना गर्ने सन्दर्भमा पनि उनले सकारात्मक प्रतिक्रिया दिए। नयाँ स्टक एक्सचेन्ज आयो, त्यसले नयाँ प्रविधि र सेवा सुविधा ल्याउने सम्भावना भएकाले बजारमा सकारात्मक असर पर्ने र लगानीकर्ताको हित हुने कुरामा रौनियारले विश्वास व्यक्त गरे।