काठमाडौं । पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री सुनिल लम्सालले नागढुंगा–मुग्लिङ सडक खण्डको स्थलगत निरीक्षण गरेका छन्। निर्माण कार्यमा देखिएका समस्या र ढिलाइको वास्तविक अवस्था बुझ्न उनी स्वयं अनुगमनमा पुगेका हुन्।
अनुगमनका क्रममा निर्माण कार्य प्रभावित हुनुमा अन्तर्राष्ट्रिय तथा स्थानीय दुवै कारण रहेको देखिएको छ। पश्चिम एसियामा उत्पन्न द्वन्द्वका कारण बिटुमिन र अन्य पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या आएपछि सडक निर्माण कार्यमा असर परेको बताइएको छ।
त्यसैगरी, ढुंगा, गिट्टी र बालुवाको सहज आपूर्ति नहुनु तथा स्थानीय अवरोधहरू पनि आयोजनामा ढिलाइका प्रमुख कारणका रूपमा देखिएका छन्।
इन्धन र निर्माण सामग्रीको अभावले नागढुंगा–मुग्लिङ मात्र नभई देशभरका विभिन्न सडक आयोजनाहरूको काम सुस्त वा केही ठाउँमा रोकिएको अवस्था रहेको छ।
निर्माण व्यवसायीहरूले लामो समयदेखि यी समस्याबारे सरकारलाई जानकारी गराउँदै आए पनि अपेक्षित समाधान नआएको गुनासो गर्दै आएका छन्।
यसैबीच, समस्याको समाधान खोज्न मन्त्री लम्सालले स्वयं अनुगमन गरी सरोकारवालासँग छलफल अघि बढाएका छन्।






