काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन्।
शुक्रबार शीतलनिवासमा आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रममा सम्बोधन गर्दै उनले कृषकको सम्मान र विभिन्न सहुलियतमार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै उत्पादन तथा उत्पादकत्व बढाउने सरकारको योजना अघि बढिरहेको स्पष्ट पारिन्।
मन्त्री चौधरीका अनुसार सीमित स्रोतसाधनका बाबजुद सरकारले मल, बिउ, सिँचाइ, प्राविधिक सेवा, पशुपन्छी खोप, कृषि पूर्वाधार, यान्त्रीकरण तथा बाली र पशुधन बीमाजस्ता क्षेत्रमा सहुलियत उपलब्ध गराउँदै आएको छ।
उनले अझै पनि कृषकले विभिन्न चुनौती सामना गरिरहेको स्वीकार गर्दै मन्त्रालय यस विषयमा गम्भीर रहेको बताइन्। साथै, कृषि क्षेत्रलाई जीविकोपार्जन मात्र नभई सम्मानित, व्यावसायिक र आत्मनिर्भर बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।






