काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ ।

महानगर भित्रका पसलहरूमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थ बिहीबारदेखि नै महानगर प्रहरीले उच्च निगरानीका साथ जफत गर्न थालेको हो ।

काठमाडौँमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल बन्दसम्म गराउन सक्ने सूचना जारी गरेको भोलिपल्टदेखि महानगरपालिकाले पसलहरूको अनुगमन सुरु गरेको छ।

महानगरपालिकाले सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ। बिहीबार बिहान मात्रै महानगर प्रहरीले बालाजु लगायतका स्थानबाट २ बोरा, जडीबुटी र कोटेश्वर क्षेबाट २ झोला र अरु विभिन्न क्षेत्रबाट ३ बोरा सुर्तीजन्य पदार्थ जफत गरेको महानगर प्रहरीका कार्यवाहक प्रमुख एसपी विष्णु जोशीले बताएका छन् ।

महानगर प्रहरीले अनुगमनका लागि १०-१० जनाको पाँच टोली परिचालन गरेको छ । त्यस्तै अनुगमन बढाउनका लागि सादा पोशाकमा समेत प्रहरी परिचालन गरेको छ ।

एसपी जोशीले भने ‘अनुगमन गर्दा पसलमा सुर्तीजन्य बस्तु पाइए सचेत गराउँदै २ पटकसम्म जफत गर्ने र तेस्रो पटक पनि भेटिए पसल नै बन्द गराउने सम्मको कारबाही हुनेछ ।’