काठमाडौं। अपर तामाकोशी हाइड्रोपावरले आह्वान गर्दा नविकेको हकप्रद शेयरको लागि बोलकबोलमा आवेदन आज अन्तिम दिन रहेको छ ।
कम्पनीले नविकेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा आवेदन खुला राखेको छ । इच्छुक लगानीकर्ताले आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सक्ने छन् ।
यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका छन् ।
यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो ।
कम्पनीले पुस १३ गतेदेखि लिलामी बिक्री खुला गरेको हो । हाइड्रोपावरले सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो।






