काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम (तरलता) वृद्धि हुँदै गइरहेको छ। बजारमा अहिले अधिक तरलता भएता पनि बैंकबाट कर्जा प्रभाव भने खासै हुन् सकेको छैन्। अहिले पनि देश आर्थिक मन्दीको चपेटाबाट माथि उठ्न नसक्दा बैंकहरुबाट सोचे अनुरुप कर्जा प्रभाव हुन् नसकेको हो। जुन बैंकहरुलाई निकै नै ठाउको दुखाइको विषय बनिरहेको छ।
आर्थिक मन्दीको प्रभाव अन्य क्षेत्रमा केही हदसम्म कम हुँदै गएता पनि वित्तीय क्षेत्रलाई भने नयाँ ढंगले सताइरहेको छ। नेपालको बित्तिय क्षेत्रमा किन यस्तो खालको समस्या देखिरहेको छ ? बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था कस्तो बनिरहेको छ ? राष्ट्र बैंकले समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको दाबी गरेपनि अर्थतन्त्रमा भने किन सुधार देखिएको छैन ? यी र यस्ता समग्र विषयको प्रश्न आर्थिक भ्वाईसले पूर्व गभर्नर तथा अर्थविद् दीपेन्द्र बहादुर क्षेत्रीलाई सोधेको छौ । प्रस्तुत छ अर्थविद् क्षेत्रीको बिचार
यो समयमा बैंकमा भएको पैसा परिचालन हुन सकिरहेको अवस्था छैन ,अथवा आम मान्छेले बैंकबाट लोन लिने कुरामा आनाकानी गरिरहेका अवस्था बनेको साँचो हो । जसको कारण बैंकमा अधिक मात्रामा तरलता थपिन गएको छ ।
सामान्यतया यस्तो अवस्था किन आउँछ त ? यो विषयमा प्रस्ट हुन आवश्यक छ आम मान्छेहरू जसलाई लोनको आवश्यकता छ उनीहरू थप ब्याजदर घट्ने अपेक्षामा बसिरहेका छन् । यो समय समग्र अर्थतन्त्रमा निराशा छाएको छ । बजारमा पुँजी साँघुरिएकै कारण अर्थतन्त्रले लय समाउन सकिरहेको अवस्था छैन ।
केही छिमेकी राष्ट्रहरूको बैंकिङ् सिस्टमको कुरा गर्ने हो भने त्यहाँ आम मान्छेको रकममा सुरक्षित साथ राखिदिए बापत बैंकले ब्याजदर दिने होइन उल्टो बैकलाई निश्चित रकम तिर्नु पर्ने हुन्छ । हो यहीँ विचार हाम्रो नेपाली समाजमा प्रशिक्षित हुदैँछ ।
हाम्रो नेपालको सन्दर्भमा हेर्ने हो भने मान्छेले ५० प्रतिशतसम्म व्याज लिएर खाएको अवस्था थियो। आज त्यो उदाहरण खोज्न टाढा जानै पर्दैन काठमाडौँको सडकमा आन्दोलन गरिरहेका मिटरव्याजी तथा लघुवित्त पीडितलाई हेरे हुन्छ। ५० प्रतिशत हैन त्यहाँ त शतप्रतिशत नै असुलेको देखिन्छ।
आर्थिक मन्दी बढ्नुको अर्को खास कारण सहकारीको हात खुट्टा भाँचिनु हो ।
शास्त्रीय हिसाबले समेत ब्याजदरको निर्धारण कसरी हुन्छ भन्ने हो भने माग र आपूर्तिले गर्छ भनेर त हामी निरन्तर भन्दै आएका छौ । पैसाको माग र आपूर्ति कति सम्म हुन सक्छ भन्ने कुराले ब्याजदर घट्ने बढ्नेमा अर्थ राख्नुपर्ने हो । तर यहाँ व्यक्तिले हचुवाको भरमा कुनै तथ्यको अध्ययन नगरीकन बोल्दिदा समेत अर्थतन्त्र लयमा आउन नसकेको अवस्था छ ।
गत महिना देशका प्रधानमन्त्री समेत रहेका प्रचण्डले बैंकको ब्याजदर घटाउन निर्देशन गर्नुभयो त्यसको अर्थ निजी क्षेत्रलाई रिझाउनु बाहेक केही मान्न सकिन्न । अहिले लगभग सबैजसो बैंकको ब्याजदर हेर्ने हो भने एकल अकंमा आएको छ । ठिक छ बैंकको ब्याजदर एकल बिन्दुमा आयो तर बैंकहरुले यस अगाडि नै जहाँ चर्को लगानी गरेका थिए त्यहाँको ब्याजदर घटाए त ?
अहिलेको समयमा मान्छेहरू ठुलो ऋण लिन सक्ने अवस्थामा छैनन् सानो तिनो रकम लिन जाने हो भने बैंकले आलटाल गरेर पठाउने स्थिति छ
त्यस्तो त छैन प्राइभेट सेक्टरको लक्ष्य नै जसरी हुन्छ आफ्नो नाफामा वृद्धि ल्याउने भन्ने हो उनीहरू कसरी अर्थतन्त्र लयमा ल्याउने भनेर सोच्ने कुरा रहँदैन। तर त्यही क्रम बैंकहरुमा देखिनु दुखद हो। मौद्रिक टुल्सहरु राष्ट्रबैंकले चलाएको अवस्था छैन ।
ब्याजदर कमी हुँदा मान्छेले बैंकबाट ऋण लिएर लक्ष्यमा भन्दापनी अन्यत्र लगानी गर्न सक्ने सम्भावना बढेर जान्छ जसले गर्दा आयातमा हुने मूल्य वृद्धि चर्केर जान सक्दछ । मलाई लाग्छ यो विषयमा राष्ट्रबैंक चनाखो बनेको छ । हालको परिस्थितिमा बन्नु आवश्यक पनि छ ।
आर्थिक मन्दी बढ्नुको अर्को खास कारण सहकारीको हात खुट्टा भाँचिनु हो । हालको अवस्थालाई हेर्दा सहकारीको खुट्टा भाँचिए बराबर नै हो । अहिलेको समयमा मान्छेहरू ठुलो ऋण लिन सक्ने अवस्थामा छैनन् सानो तिनो रकम लिन जाने हो भने बैंकले आलटाल गरेर पठाउने स्थिति छ, किनकि उनीहरू भन्छन् सानो कर्जा दिँदा हाम्रो लागत बढेर जान्छ ।
करोड ऋण र पाँच लाख बराबरको ऋण दिँदा हामीलाई बराबरको लागत लाग्न जान्छ जसको कारण हामी कम अङ्कमा ऋण दिन सक्ने अवस्थामा छैनौ भन्ने जवाफ बैंकको छ । यसको विकल्पको रूपमा यस अगाडि सहकारी थियो तर अब सहकारीले समेत विश्वास गुमाएको अवस्थाले व्यवसायी मर्कामा परेका छन् व्यवसायी नै संकटमा भएपछि कारोबार उठ्ने कुरै भएन ।
अर्को तीर केही नाम चलेका सहकारीले गल्ती गरेको कारण स–साना सहकारीले समेत सोच्नुपर्ने अवस्था निर्माण भएको छ। सामान्यतया लोन प्रवाह गर्न सक्ने अवस्थामा सहकारी छैनन् त्यसको सिधा मर्का कहाँ पर्न गयो भने स–साना व्यवसायमा । सहकारीकै भरमा साना तिना व्यवसाय सञ्चालन गरेका व्ययसायीहरु निराशामा छन् उनीहरूको व्यवसाय चौपट छ। बैंकमा जानु सानो रकम दिँदैन सहकारीमा विश्वास गुमेको छ जसको कारण व्यवसायी नै पलायन भए फलस्वरुप अर्थतन्त्रमा झन् बढी मन्दी देखिँदै गएको अवस्था छ ।
केही मात्रामा भएको पैसा पनी उत्पादनमुखी क्षेत्रमा लगानी भएको छैन ,आयस्रोत हुने ठाउँ घट्दै गएको छ। अर्को विषय केही मान्छेको अध्ययन बिनाको विश्लेषणले समेत बैंकिङ् क्षेत्रमा समस्या आएको छ । पछिल्लो समय अर्थतन्त्रभित्र केही मान्छेले हचुवाको भरमा बैंकमाथी प्रहार गरिरहेका छन् त्यसको प्रभाव सिधै नागरिक , लगानीकर्तामा पर्न गएको छ त्यसले मान्छेलाई त्रसित बनायो जसले गर्दा बजारको अर्थतन्त्र साँघुरो बन्दै गएको हो।
लगानीकर्ता बजारमा फर्किन आवश्यक छ जसले गर्दा बजार र समग्र बैंकिङ क्षेत्र हुँदै अर्थतन्त्रले गति लिने देखिन्छ
लगानीकर्ताको आत्मबल बढ्न जरुरी छ राष्ट्रबैकंकले एक महिना अगाडि केही व्यक्ति तथा संस्थालाई कारबाही गरेको अवस्था छ यस कारण पनि बैंकिङ क्षेत्र अप्ठ्यारोमा छैन भन्ने स्मरण गर्दै लगानीकर्ताले लगानी बढाउन आवश्यक छ । निक्षेपकर्ता र लगानीकर्ता यो समय निरुत्साहित हुनुपर्ने समय छदै छैन।
अहिले रेमिट्यान्स आउने फ्लो बढेका कारण अर्थतन्त्र र तरलता अभावको समस्या केही हदसम्म समाधान हुँदै गएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत आर्थिक वर्षदेखि आर्थिक क्षेत्रमा देखिएको समस्या तथा तरलताको समस्या राष्ट्र बैंकले लिएको नीतिका कारण समाधान हुँदै गएको दाबी गरेका छन्। यसर्थ लगानीकर्ता बजारमा फर्किन आवश्यक छ जसले गर्दा बजार र समग्र बैंकिङ क्षेत्र हुँदै अर्थतन्त्रले गति लिने देखिन्छ ।







