काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशका पहाडी जिल्लाहरूमा होली उल्लासपूर्ण वातावरणमा मनाइँदै छ। आपसी सद्भाव, भाइचारा र एकताको सन्देश बोकेको फागु पर्वका अवसरमा सरकारले आज पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ।
सार्वजनिक बिदा भए पनि वित्तीय सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरूले आंशिक रूपमा सेवा सञ्चालन गर्ने भएका छन्। सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै वाणिज्य बैंक तथा विकास बैंकहरूले चयनित शाखा तथा ‘होलिडे काउन्टर’ मार्फत सीमित बैंकिङ सेवा उपलब्ध गराउने जनाएका छन्।
बैंकहरूले आज निक्षेप संकलन, नगद भुक्तानी, चेक क्लियरिङसम्बन्धी आधारभूत सेवा तथा विदेशी मुद्रा सटही (एक्सचेन्ज) सुविधा प्रदान गर्ने व्यवस्था मिलाएका छन्। चाडपर्वको समयमा समेत बैंकिङ सेवा निरन्तरता दिइनु सकारात्मक कदम भएको भन्दै सेवाग्राहीहरूले यसलाई सहजताका रूपमा लिएका छन्।








