काठमाडौँ। लघुवित्तबाहेकका बैंक तथा वित्तीय संस्थाले १० महिनाको अवधिमा ५३ अर्ब रुपैयाँ बढी खुद नाफा कमाएका छन्।

चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंकहरुले ५३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएका नेपाल राष्ट्रबैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

उक्त अवधिमा वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड, विकास बैंकहरुले ४ अर्ब १७ करोड र वित्त कम्पनीहरूले ४१ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथयांकले देखाएको छ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये चालू वर्षको १० महिनामा सबैभन्दा बढी नबिल बैंकले ५ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाउँदा सबैभन्दा कम नेपाल बैंकले ५९ करोड रुपैयाँ मात्रै खुद नाफा कमाउन सकेको हो।

चालु वर्षको १० महिनामा उच्च परिमाणमा खुद नाफा कमाउने वाणिज्य बैंकहरुको सूचीको दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंकले ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको हो।

समीक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगाले ३ अर्ब ७७ करोड र प्राइम कर्मसियल बैंकले ३ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाउँदा बाँकी बैंकमध्ये ८ वटाले १ अर्बमाथि ३ अर्बसम्म र ७ वटाले १ अर्बमाथि २ अर्ब रुपैयाँसम्म खुद नाफा कमाएका छन्।

यस्तै, सञ्चालनमा रहेका १७ विकास बैंकहरुमध्ये सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले ९९ करोड ४८ लाख र सबैभन्दा कम कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ३४ लाख खुद नाफा कमाएको छ। साथै, वित्त कम्पनीमध्ये उक्त अवधिमा सबैभन्दा बढी मञ्जुश्री फाइनान्सले २० करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।