काठमाडौँ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय आज शुक्रवारका दिन सार्वजनिक भएका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बिहीबारको बैठकले गरेका १२ वटा निर्णय सार्वजनिक गरेका छन् ।
प्रवक्ता गुरुङका अनुसार बबई सिँचाइ आयोजनाका लागि बर्दियाको गुलरिया नगरपालिकामा करिब ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । साथै, कृषि मन्त्रीको मेक्सिको र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको फिलिपिन्स भ्रमण स्वीकृत गरिएको छ ।
यसैगरी जनक शिक्षा सामग्री केन्द्रलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृत दिने निर्णय भएको मन्त्री गुरुङले जनाएका छन् । साथै, नेपाल फार्मेसी परिषद्को सदस्य पदमा डा.सभ्यता गौतम र विष्णु प्रदान कँडेललाई मनोनयन गर्ने सचिवमा रघुराम विष्टलाई बढुवा गर्ने लगायतका निर्णय भएको हो ।







