काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका छन्।

काठमाडौँमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गोलाप्रथा प्रणाली हटाइएमा न्यायपालिकामा राजनीतिक हस्तक्षेप बढ्ने खतरा रहेको टिप्पणी गरे।

उनका अनुसार गोलाप्रथाको सट्टा प्रधानन्यायाधीशले नै पेशी तोक्ने पुरानो अभ्यास फर्किएमा न्यायिक प्रक्रियामा राजनीतिक प्रभाव पर्ने जोखिम रहनेछ। यस्तो निर्णय भएमा सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि उनले दिएका छन्।

बार अध्यक्ष मिश्रले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया र संवैधानिक परिषद्को भूमिकाबारे पनि प्रश्न उठाउँदै राजनीतिक स्वार्थअनुसार नियुक्ति हुने अभ्यास देखिएको आरोप लगाए।

उनले न्यायालयमाथि विश्वास कमजोर पार्ने प्रयास भइरहेको उल्लेख गर्दै कानुन व्यवसायीहरूले यस्तो अवस्थामा विवेकपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए। साथै, न्यायपालिकालाई मजबुत बनाउन वकिलहरूको महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ।