काठमाडौँ । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा व्यापक चेकिङ अभियान सञ्चालन गर्दै २ हजार ४५३ जना सवारी चालकलाई कारबाही गरेको छ।

उक्त कारबाहीबाट कुल ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार विभिन्न ट्राफिक नियम उल्लङ्घनका आधारमा चालकहरूलाई कारबाही गरिएको हो। जसअन्तर्गत मादक पदार्थ सेवन गरी सवारी चलाउने १०५, राइड सेयरिङमा संलग्न २३८, रातोबत्ती उल्लङ्घन गर्ने १८४, तीव्र गतिमा चलाउने १८६, लेन मिच्ने १४, फुटपाथमा सवारी चलाउने १००, हर्न निषेध उल्लङ्घन गर्ने ११९, एकतर्फी सडकमा चलाउने १३९ र अन्य विभिन्न कारणमा १ हजार ३६८ जना चालक कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत र दण्डनीय कार्य भएको भन्दै यस्ता गतिविधि देखिएमा तुरुन्त जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता अवस्थामा नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको १०३ तथा प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।