काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्तुत गरेका छन् ।

स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लेख भएका विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बारकोटीको नेतृत्वमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले आग्रह गरेका थिए ।

सोही आग्रह अनुसार समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन मन्त्री पौडेलले प्रधानमन्त्रीसमक्ष बुझाएका हुन् । कार्ययोजनाका आधारमा मन्त्रिपरिषद् बैठकमार्फत स्वास्थ्य बीमामा सुधार सम्बन्धमा निर्णय हुने पौडेलको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै ५ लाख पुर्‍याउने गरी तयारी गरिरहेको बताएका थिए । प्रतिवेदनमा ५ लाखको लक्ष्यमा पुग्न सकिने विषयवस्तु समावेश छ ।

मन्त्रिपरिषद्बाट निर्णय भएमा संसद्को अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संसोधनको प्रक्रिया अघि बढाउने स्वास्थ्यमन्त्रीको तयारी छ ।