काठमाडौं । सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार होटलको आम्दानी र नाफा दुवैमा वृद्धि देखिएको छ ।

कम्पनीले चालु आवको चैत मसान्तसम्म ४६ करोड ७३ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा १३.३६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा होटलले ४१ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको सञ्चालन नाफा पनि १५.४१ प्रतिशतले बढेर ५९ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

होटेलले गत आवको समीक्षा अवधिसम्म १ अर्ब ६८ करोड आम्दानी गरेको थियो । चालू आवमा होटलको आम्दानी १ अर्ब ८९ करोड पुगेको छ ।

१ अर्ब २ करोड १८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस होटलको जगेडा कोषमा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा होटलको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५७ पैसा तथा प्रतिशेयर नेटवर्थ २५ रुपैयाँ १७ पैसा रहेको छ ।