काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ एक्लेभट्टी क्षेत्रबाट ठूलो परिमाणमा अवैध सामानसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरीका अनुसार ५९० कार्टुन चाइनिज इलेक्ट्रिक चुरोट (भेप) लगायतका सामग्री बरामद गरिएको हो।
धादिङको धुनीबेशी–१ का सन्तोष लामा, सिन्धुपाल्चोक भोटेकोशी–२ का फुन्चुदोर्जे तामाङ र सोही गाउँपालिका–३ का पासाङ शेर्पालाई नियन्त्रणमा लिइएको हो।
कोरोला नाका हुँदै काठमाडौंतर्फ आउँदै गरेका दुई कन्टेनर (ना ६ ख ४७४३ र ना ५ ख ७९२१) मा लुकाइछिपाइ सामान ल्याइएको अवस्थामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले जाँचका क्रममा नियन्त्रणमा लिएको जनाएको छ।
बरामद सामानमा ५९० कार्टुन भेपका साथै २५९ कार्टुन जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ केजी खाली प्याकेजिङ कार्टुन समेत रहेको छ।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ भने बरामद सामग्री मुस्ताङ भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।






