काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म नेप्सेमा सूचीकृत सिमेन्ट कम्पनीहरूको वित्तीय विवरण सार्वजनिक भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत सिमेन्ट कम्पनीहरूको वित्तीय विवरणअनुसार अधिकांश कम्पनीहरु नाफामा रहेका छन् ।

समग्र उद्योगको अवस्था हेर्दा सिमेन्ट क्षेत्र अझै सम्भावनायुक्त देखिए पनि उत्पादन लागत वृद्धि र बजार प्रतिस्पर्धाले कम्पनीहरूको नाफामा प्रत्यक्ष असर पारेको छ ।

यस अवधिमा अधिकांश कम्पनीहरूले राम्रो नाफा आर्जन गरेका छन् । विश्लेषकहरूका अनुसार उद्योगको कारोबार सकारात्मक भएको छ ।

शिवम् सिमेन्ट्सको चुक्ता पुँजी सबैभन्दा धेरै ५ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । त्यसपछि, सर्वोत्तमको ५ अर्ब २२ करोड रुपैयाँ र घोराहीको ५ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । पाल्पाको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ तथा सोनापुरको ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ । समग्रमा ५ कम्पनीहरुको कुल चुक्ता पुँजी २२ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।

यस्तै, जगेडा कोष तथा सेयर प्रमियमतर्फ सर्वोत्तम सिमेन्टको आकार ५ अर्ब १ करोड रुपैयाँभन्दा बढी पुगेको छ । त्यसपछि, शिवम् सिमेन्ट्सको जगेडामा ४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । घोराहीको उक्त कोषमा ३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । सोनापुरको २ अर्ब ९८ करोड रुपैयाँ जगेडामा राखेको छ भने पाल्पाको जगेडा कोषमा १ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

यसैगरी, सञ्चालन आम्दानीतर्फ सर्वोत्तम सिमेन्टले ९ महिनामा ७ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । शिवम् सिमेन्ट्सले ४ अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको छ भने घोराहीले ३ अर्ब ५५ करोड आम्दानी गरेको छ । पाल्पाले ३ अर्ब ४० करोड र सोनापुरले ३ अर्ब ४ करोड रुपैयाँ आम्दानी गरेका छन् ।

त्यस्तै, नाफामा सर्वोत्तम सिमेन्टले ९० करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । शिवम् सिमेन्ट्सले ६१ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ भने सोनापुरले २२ करोड ६१ लाख र पाल्पाले ५ करोड ७३ लाख नाफा आर्जन गरेको छ ।