काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि भएपछि चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा दोब्बरभन्दा बढी बढेको छ ।
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म खुद नाफा २१६.११ प्रतिशतले बढ्दै ८ करोड ७० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नाफा २ करोड ७५ लाख रुपैयाँ मात्र थियो ।
यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४४ करोड ४२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५९.४२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा यो आम्दानी २७ करोड ८६ लाख रुपैयाँ रहेको थियो । त्यसैगरी, खुद सञ्चालन आम्दानी ४९ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।
सञ्चालन मुनाफा पनि उल्लेख्य रूपमा बढ्दै १० करोड ८१ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यो २ करोड ७४ लाख रुपैयाँमा सीमित थियो ।
संस्थाको वितरणयोग्य मुनाफा ६ करोड ७० लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ २४ करोड २६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २१ करोड २ लाख रुपैयाँ थियो । रिजर्भ कोष पनि सोही अनुपातमा बढेर २४ करोड २६ लाख रुपैयाँ पुगेको छ । साथै, सेयर प्रिमियम शीर्षकमा ७ करोड २९ लाख रुपैयाँ छुट्याइएको छ ।
समीक्षा अवधिसम्म संस्थाले १ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यद्यपि, खराब कर्जा अनुपात ५.५९ प्रतिशतबाट बढेर १५.५० प्रतिशत पुगेको छ ।
अन्य वित्तीय सूचकहरूमा प्रतिसेयर आम्दानी १६.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४२.४४ रुपैयाँ, कुल सम्पत्ति मूल्य १२१९.८५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४१.२९ गुणा र तरलता अनुपात ११.७५ प्रतिशत रहेको संस्थाले जनाएको छ ।







