काठमाडौँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसँग सम्बन्धित सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने विषयमा नेपाल सरकार दृढ रहेको जनाएको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यसबारे सरकारको धारणा स्पष्ट रहेको बताएका हुन् ।

उनका अनुसार लिपुलेक क्षेत्रबारे नेपालले आफ्नो आधिकारिक दृष्टिकोण यसअघि नै सार्वजनिक गरिसकेको छ । विशेषगरी भारत र चीनबीच सञ्चालन हुने कैलाश–मानसरोवर यात्रामा नेपाली भूमि प्रयोग हुने विषयमा सरकारको स्पष्ट अडान रहेको उनले उल्लेख गरे ।

प्रवक्ता पौडेलका अनुसार सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएकोमा सरकार अडिग छ ।

नेपालले आफ्नो धारणा भारत र चीन दुवै पक्षसमक्ष कूटनीतिक माध्यमबाट पुनः प्रस्तुत गरिसकेको पनि उनले जानकारी दिए ।

नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै ऐतिहासिक सन्धि, प्रमाण र नक्साका आधारमा सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको उनको भनाइ छ ।