सिरहा । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय हटाउने सरकारी निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाले आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको छ । पार्टीले भन्सार कार्यालय हटाउनुको सट्टा त्यसलाई आधुनिक सुविधा सम्पन्न संरचनाका रूपमा विकास गर्न सरकारसँग माग गरेको छ ।
रास्वपा सिरहाका जिल्ला सभापति हरिप्रसाद मैनालीले जारी गरेको ध्यानाकर्षणपत्रमा स्थानीय भन्सार कार्यालयलाई विस्थापित गर्नुको विकल्पमा सुधार र स्तरोन्नति गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गरिएको छ ।
पत्रमा सिरहाबाट प्रतिनिधित्व गर्ने सांसदहरू बलराम गुप्ता, शिवशंकर यादव, डा. शम्भुकुमार यादव, तपेश्वर यादव, डा. ललिताकुमारी शाह र पुरुषोत्तम यादवलगायतलाई समेत स्थानीय हितका लागि सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
त्यसैगरी रास्वपाले आफ्ना नेता तथा कार्यकर्तालाई सरकारको निर्णयविरुद्ध सडक आन्दोलन वा विरोध कार्यक्रम नगर्न निर्देशन दिएको छ ।
यसैबीच, भन्सार कार्यालय हटाउने निर्णयपछि स्थानीय बासिन्दा र व्यापारीहरूले निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन् ।







