काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले कृषि अनुसन्धानका लागि आवश्यक बजेट सरकारले अभाव हुन नदिने स्पष्ट पारेका छन् । उनका अनुसार कृषि क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्दै अनुसन्धान कार्यलाई निरन्तर अघि बढाइरहेको छ ।
ललितपुरमा शुक्रबार आयोजित नेपाल कृषि अनुसन्धान परिषद्को ३५औं वार्षिकोत्सव समारोहमा बोल्दै सचिव मिश्रले कृषि अनुसन्धानका लागि आउने ठोस प्रस्तावहरूमा सरकारले तुरुन्तै बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।
उनले कृषि अनुसन्धानसम्बन्धी कार्यक्रमहरू बजेट अभावमा रोक्न नदिने उल्लेख गर्दै आवश्यक परे सरकारले थप स्रोत परिचालन गर्ने बताए ।
सचिव मिश्रले मन्त्रालयअन्तर्गत रिक्त दरबन्दी पूर्ति गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै संगठनात्मक पुनर्संरचना र नियमावली परिमार्जनको काम अघि बढिरहेको बताए । साथै कृषि अनुसन्धान ऐन संशोधनका लागि कार्यदल गठन भइसकेको पनि उनले जानकारी दिए ।
उनका अनुसार सरकारले नीतिगत तथा कानुनी सुधारमार्फत जनशक्ति अभाव हुन नदिने र कृषि अनुसन्धानलाई अझ सशक्त बनाउने लक्ष्य लिएको छ ।







