काठमाडौँ । सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा र आम्दानी दुवैमा वृद्धि भएको जनाएको छ।

समीक्षा अवधिसम्म कम्पनीले ५५ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४९ करोड ९ लाख रुपैयाँको तुलनामा १२.८६ प्रतिशतले बढी हो।

कम्पनीको कुल आम्दानी पनि वृद्धि भई २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी कम रहेको थियो, जसको तुलनामा १२.७० प्रतिशतले वृद्धि भएको देखिन्छ।

खर्चतर्फ भने वृद्धि देखिएको छ। अघिल्लो वर्ष १ अर्ब ३७ करोड रुपैयाँ रहेको कुल खर्च समीक्षा अवधिमा बढेर १ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।

यसैगरी, कम्पनीको सञ्चित मुनाफा (रिटेन्ड अर्निङ) १ अर्ब ५७ करोड रुपैयाँबाट बढेर १ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। कम्पनीको चुक्तापूँजी १ अर्ब १७ करोड ५१ लाख रुपैयाँ रहेको छ।

वित्तीय सूचकअनुसार कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४.६९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६.७३ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३२.६७ रुपैयाँ कायम भएको छ। साथै, मूल्य–आम्दानी अनुपात १०८.४० गुणा र तरलता अनुपात १.५० प्रतिशत रहेको छ।