काठमाडौं । आयुष चिकित्सा प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालमा पहिलो पटक ‘इन्टरनेशनल आयुष कन्क्लेभ’ आयोजना हुने भएको छ। नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा भारतस्थित काउन्सिल फर इन्टिग्रेटिभ वैद्य इनोभेसन एण्ड कोलाबरेसन (CIVIC) ले कार्यक्रम आयोजना गर्न लागेको हो।
आगामी जुन १२ देखि १४ सम्म काठमाडौंमा हुने कन्क्लेभको चौथो संस्करणमा आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, युनानी, सिद्ध र होमियोप्याथी लगायतका आयुष प्रणालीलाई एउटै मञ्चमा समेटिनेछ।
संस्थाका प्रतिनिधि डा. एम. एम. कुरैशीका अनुसार कार्यक्रममा वैज्ञानिक प्रस्तुति, अनुसन्धानमूलक सत्र तथा अन्तर्राष्ट्रिय ज्ञान आदानप्रदानलाई प्राथमिकता दिइनेछ। उनले आयुष क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई विभिन्न अवार्डमार्फत सम्मान गरिने जानकारी दिए।
कार्यक्रममा आयुष लेजन्डरी अवार्ड, आयुष एक्सिलेन्स अवार्ड, आयुष राइजिङ अवार्ड र आयुष इन्टरप्राइज अवार्ड प्रदान गरिनेछ।
साथै, आयुष चिकित्सकहरूको ठूलो क्लिनिकल डायग्नोसिस सत्र आयोजना गरी ‘लेजेन्ड्स वल्र्ड रेकर्ड’ कायम गर्ने प्रयास पनि गरिने आयोजकले जनाएको छ।
कन्क्लेभमा सहभागीहरूले स्वास्थ्य सेवामा कृत्रिम बुद्धिमत्ता (एआई) र आधुनिक प्रविधिको प्रयोगबारे पनि जानकारी पाउनेछन्।
नेपाल चेम्बर अफ कमर्सका ट्रेड फेयर समितिका सभापति राष्ट्रभूषण चाकुबजीका अनुसार भारतका २० भन्दा बढी राज्यसहित १० भन्दा बढी देशबाट करिब २०० प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ।
यसअघि यस्ता कन्क्लेभहरू भारतको आग्रा, गोवा र जयपुरमा सम्पन्न भइसकेका थिए भने नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो।







