काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेपछि बैंकिङ क्षेत्र तरंगित बनेको छ। घटनापछि बैंकहरूको छाता संस्था नेपाल बैंकर्स संघले आकस्मिक छलफलका लागि बैठक आह्वान गरेको छ।

लिलामी प्रक्रियामार्फत ऋण असुली गर्दा ‘ठगी तथा आपराधिक विश्वासघात’ भएको आरोपमा पाण्डेलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो। सोही घटनाले बैंकिङ क्षेत्रमै गम्भीर चासो उत्पन्न गरेको छ।

पाण्डे पक्राउपछि बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नेपाल राष्ट्र बैंकका गभर्नर तथा उच्च अधिकारीहरूसँग परामर्श गरेका थिए। त्यसपछि उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख मनोज केसीसँग समेत भेटवार्ता गरेका थिए।

सीआईबीसँगको छलफलपछि कोइरालाले बिहीबार बिहानै २० वटै वाणिज्य बैंकका सीईओ तथा प्रतिनिधिहरूलाई आकस्मिक बैठकमा बोलाएका छन्।

सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति लिलामीमार्फत गरिएको ऋण असुली प्रक्रियामा अनियमितता भएको दाबी गर्दै पाण्डेलाई बुधबार साँझ करिब ८ बजे नियन्त्रणमा लिएको बताइएको छ।