काठमाडौँ। माटोभित्र गाडिएका बीउहरूले आकाशबाट पर्ने वर्षाको आवाज “सुन्न” सक्छन् भन्दा पत्याउनुहुन्छ ?
तपाईलाई यो प्रश्न सुन्दा कुनै कथा जस्तो लाग्न सक्छ तर हालै गरिएको वैज्ञानिक अध्ययनले यही कुरा वास्तविक हुन सक्ने संकेत दिएको छ।
अमेरिकाको प्रसिद्ध अनुसन्धान संस्था एमआईटीका वैज्ञानिकहरूले गरेको अनुसन्धानअनुसार सुख्खा माटोमा वर्षाको पहिलो थोपा खस्दा उत्पन्न हुने सूक्ष्म ध्वनि र कम्पनहरू माटोभित्रसम्म पुग्छन्। ती कम्पनहरूले निष्क्रिय अवस्थामा रहेका बीउहरूलाई असर गर्छन् र उनीहरूलाई “अब अंकुरणको समय आएको छ” भन्ने जानकारी दिन्छन्।
अध्ययनका अनुसार विशेषगरी धानका बीउहरूमा यो प्रभाव स्पष्ट देखिएको छ। वर्षाजस्तो ध्वनि र कम्पनको सम्पर्कमा आएका बीउहरू सामान्य अवस्थाको तुलनामा करिब ३० देखि ४० प्रतिशत छिटो उम्रिएको पाइएको हो।
यसले वनस्पतिहरू केवल पानी र चिस्यानको प्रतीक्षामा मात्र रहने होइन, वातावरणीय संकेत पनि बुझ्न सक्ने क्षमता राख्छन् भन्ने देखाएको छ।
वैज्ञानिकहरूको भनाइमा बीउहरू वरिपरिको अवस्थालाई निष्क्रिय रूपमा होइन, सक्रिय रूपमा “महसुस” गर्छन्। उनीहरूले तापक्रम, चिस्यानसँगै ध्वनि र कम्पनलाई पनि संकेतका रूपमा उपयोग गर्छन् र अंकुरणका लागि उपयुक्त समय निर्धारण गर्छन्।
वर्षाको आवाजले बीउलाई कसरी प्रभाव पार्छ ?
वर्षाको आवाजले बीउलाई कसरी प्रभाव पार्छ भन्ने विषय पनि रोचक छ। जब पानीका थोपा माटो वा पानीको सतहमा खस्छन्, त्यतिबेला उत्पन्न हुने ध्वनि तरंगहरू माटोभित्र फैलिन्छन्।
बीउभित्र रहेका अत्यन्त सूक्ष्म स्टार्च आधारित कणहरू (स्टाटोलिथ) यी कम्पनबाट प्रभावित हुन्छन् र त्यसले बीउलाई बाहिरी वातावरणमा पर्याप्त पानी उपलब्ध हुने संकेत दिन्छ। यही संकेत पाएपछि बीउहरू सक्रिय हुँदै अंकुरण प्रक्रिया सुरु गर्छन्।
शोधकर्ताहरूले करिब ८ हजार धानका बीउहरूमा विभिन्न परीक्षण गरेका थिए। केहीलाई सामान्य आर्द्र वातावरणमा राखिएको थियो भने केहीलाई वर्षाको झैँ ध्वनि र पानीका थोपा पर्ने अवस्था सिर्जना गरिएको थियो। परिणाममा ध्वनि र कम्पनको प्रभाव पाएका बीउहरू उल्लेखनीय रूपमा छिटो उम्रिएको देखियो।
यस अनुसन्धानले बिरुवाहरू पहिले सोचिएभन्दा धेरै संवेदनशील हुने तथ्यलाई बल दिएको छ। उनीहरू प्रकाश, पानी र माटो मात्र होइन, ध्वनि, कम्पन र अन्य वातावरणीय संकेतहरू पनि “बुझ्ने” क्षमता राख्छन् भन्ने कुरा थप स्पष्ट भएको छ।
यसअघि पनि विभिन्न अध्ययनहरूले बिरुवाहरूले वातावरणीय संकेतहरूमा प्रतिक्रिया दिने देखाइसकेका थिए—जस्तै कीराले पात खाँदा रसायन उत्पादन गर्ने, छोएपछि केही बिरुवा बन्द हुने वा गन्धको आधारमा प्रतिक्रिया दिने व्यवहार।
यसरी हेर्दा वर्षाको तप तप आवाज केवल हाम्रो लागि रमाइलो प्राकृतिक ध्वनि मात्र होइन, माटोभित्र लुकेका बीउहरूका लागि जीवन सुरु गर्ने महत्वपूर्ण संकेत पनि रहेको रोचक खुलासा वैज्ञानिकहरुको अध्यनले गरेको छ।







