काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको अवधिमा पूर्वी नाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यस नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएका हुन् ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा ९१ करोड ७७ लाख रकम अर्थात् ५.४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ ।
आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने ५.९० प्रतिशत अर्थात् ४३ करोड ७४ लाख ४७ हजारले बढेको उनले बताए । कार्यालयको तथ्यांकअनुसार चालु आवको १० महिनामा पेट्रोलियम पदार्थ आयातबाट सात अर्ब ८३ करोड ६२ लाख ४३ हजार राजस्व संकलन भएको छ ।
उक्त अवधिमा सात अर्ब ३४ करोड ११ लाख मूल्य पर्ने ८४ हजार ३०० किलो लिटर पेट्रोल आयात भएको थियो । यसै गरी, पाँच अर्ब ५३ करोड ९६ लाख मूल्य पर्ने ५९ हजार ९७६ किलो लिटर डिजेल आयात भएको छ ।
चालु आवको १० महिनामा दुई अर्ब ३४ करोड मूल्य पर्ने २१ हजार १०६ मेट्रिक टन एलपी ग्यास ५५ करोड ९४ लाख मूल्य पर्ने छ हजार ६० किलो लिटर एटिएफ र १९ करोड ६९ लाख मूल्य पर्ने दुई हजार १५२ किलो लिटर मट्टितेल आयात भएको कार्यालयले जनाएको छ।







