काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा निजी क्षेत्रतर्फ ३ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। गत वर्षको यसै अवधिको तुलनामा कर्जा प्रवाह ८.४ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक समीक्षामार्फत १२.५ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य राखे पनि गत वर्षको तुलनामा भने १ खर्ब १ खर्ब ४३ अर्ब रुपैयाँले कर्जा लगानी बढेको हो। गत वर्षको यसै अवधिमा २ खर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो। कर्जा लगानीमा सुधार देखिए पनि बैंकिङ प्रणालीमा भने करिब ८ खर्ब अधिक लगानीयोग्य रकम रहेको छ। राष्ट्र बैंकमा मात्रै बैंक तथा वित्तीय संस्थाहरूको ४ खर्ब ५० अर्बभन्दा बढी अधिक तरलता रहेको छ।
यस अवधिमा बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ७८.५७ प्रतिशतमा आएको छ भने अन्तर बैंक ब्याजदर २.५७ प्रतिशतमा आएको छ। रेमिट्यान्समा भइरहेको वृद्धि र आर्थिक वर्ष सकिन लागेसँगै सरकारले खर्च बढाउन थालेकाले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढेको हो।
असारमा आएर बैंकहरुको कर्जा प्रवाहसमेत नबढ्ने भएकाले प्रणालीमा अधिक तरलता थपिएको हो। बैकिङ प्रणालीमा अधिक तरलता भएसँगै बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप तथा कर्जा दुवैको ब्याजदरमा ऐतिहासिक गिरावट देखिएको छ। यस अवधिमा वाणिज्य बैंकहरुको आधार दर ६.१७ प्रतिशत, विकास बैंकहरुको ८.२४ प्रतिशत र वित्त कम्पनीहरूको ९.११ प्रतिशतमा आएको छ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.३७ प्रतिशत, विकास बैंकहरुको ५.११ प्रतिशत र वित्त कम्पनीहरूको ६.१५ प्रतिशतमा आएको छ। वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर हालसम्मकै न्यूनतम बिन्दु ८.११ प्रतिशतमा आएको छ। यस्तै विकास बैंकहरुको कर्जाको औसत ब्याजदर ९.४५ प्रतिशत र वित्त कम्पनीहरूको १०.३१ प्रतिशत कायम रहेको छ ।







