काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज काठमाडौंस्थित अनुपम फुडल्यान्डमा १९औं वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने प्रस्तावित लाभांशलगायतका महत्वपूर्ण एजेण्डामा छिनोफानो गर्नेछ।
बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर तथा बोनस कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश साधारणसभाबाट पारित हुने अपेक्षा गरिएको छ।
यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने, संस्थापक समूहबाट १ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने तथा नयाँ लेखापरीक्षक नियुक्त गर्नेजस्ता नियमित प्रस्तावमा पनि निर्णय लिनेछ।
बैंकले साधारणसभा तथा लाभांश वितरणका लागि कात्तिक १७ गते बुक–क्लोज गरिसकेको छ। सोअनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा सेयर किनबेच गरी नाम दर्ता गराएका सेयरधनीहरूले नै यस एजीएममा सहभागिता जनाउन पाउनेछन् र प्रस्तावित लाभांश प्राप्त गर्ने योग्य हुनेछन् ।







