काठमाडौं । आज पुस २१ गते, सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ८ वटा कम्पनीले आ–आफ्नो वार्षिक साधारणसभा (एजीएम) आयोजना गरेका छन्। बैंक, होटल तथा जलविद्युत् क्षेत्रका यी कम्पनीहरूको सभामा लाभांश वितरण, सञ्चालक निर्वाचन, लेखापरीक्षक नियुक्ति, पुँजी वृद्धि, हकप्रद तथा आईपीओ निष्कासनजस्ता महत्वपूर्ण प्रस्तावहरूमाथि छलफल र निर्णय हुने भएको छ।
आज साधारणसभा गर्ने कम्पनीहरूमा महालक्ष्मी विकास बैंक लिमिटेड, मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेड, सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), होटल सिराइचुली लिमिटेड, दोर्दी खोला हाइड्रोपावर कम्पनी लिमिटेड, युनियन हाइड्रोपावर लिमिटेड र पीस इनर्जी कम्पनी लिमिटेड रहेका छन्।
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिक साधारणसभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजे आयोजना गर्दैछ। सभामा बैंकले ५.३७ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावसँगै लेखापरीक्षक नियुक्ति, सञ्चालक निर्वाचन, चुक्ता पुँजी वृद्धि तथा प्रबन्धपत्र र नियमावली संशोधनसम्बन्धी प्रस्ताव पेश गर्नेछ।
मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेड को चौथो साधारणसभा मानसरोबर पार्टी प्यालेस, पुरानो बानेश्वरमा दिउँसो १ बजे बस्नेछ। कम्पनीले ०.७८९ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावसहित सञ्चालकको कामको अनुमोदन, पुँजी वृद्धि तथा प्रबन्धपत्र संशोधनमा निर्णय गर्ने जनाएको छ।
सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड ले १६औँ साधारणसभा धुम्बाराहीस्थित धुम्बाराही भेन्युमा बिहान ११ बजे आयोजना गर्दैछ। सभामा बोनस सेयर वितरण, लगानी विस्तार, १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन, पुँजी वृद्धि तथा नियमावली संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछन्।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को १४औँ साधारणसभा बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान १० बजे बस्नेछ। सभामा २ प्रतिशत नगद र १.५ प्रतिशत बोनस सेयर वितरण, सञ्चालक निर्वाचन तथा लेखापरीक्षक नियुक्तिका विषयमा निर्णय हुने कार्यसूची रहेको छ।
होटल सिराइचुली लिमिटेड ले आफ्नो दोस्रो साधारणसभा होटलको सभा हलमा साँझ ५ः३० बजे आयोजना गर्नेछ। सभामा आईपीओ निष्कासन, हकप्रद वा बोनस सेयर, संकलित रकमको उपयोग र लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्तावहरूमा छलफल हुनेछ।
यसैगरी दोर्दी खोला हाइड्रोपावर कम्पनी लिमिटेड को साधारणसभा ललितपुरको चापागाउँस्थित बज्रबराही पार्टी प्यालेसमा बिहान ८ बजे बस्दैछ। सभामा हकप्रद सेयर निष्कासन, पुँजी वृद्धि, लेखापरीक्षक नियुक्ति तथा प्रबन्धपत्र संशोधनसम्बन्धी प्रस्ताव पेश गरिनेछन्।
युनियन हाइड्रोपावर लिमिटेड ले १९औँ वार्षिक साधारणसभा ललितपुर–३ स्थित सिद्धार्थ कटेजमा वा भर्चुअल माध्यमबाट बिहान ११ बजे आयोजना गर्ने जनाएको छ। सभाको मुख्य एजेन्डा लेखापरीक्षक नियुक्ति र कार्यसमितिको निर्वाचन रहेको छ।
त्यस्तै, पीस इनर्जी कम्पनी लिमिटेड को साधारणसभा बत्तिसपुतलीस्थित प्रेसिडेन्ट सेकुवामा साँझ ६ बजे बस्नेछ। सभामा सञ्चालक समिति गठन, आईपीओ निष्कासन तथा प्रबन्धपत्र संशोधनसम्बन्धी प्रस्तावहरूमा निर्णय हुने कम्पनीले जानकारी दिएको छ।







